चीन भ्रमणका बेला ओलीले तातोपानी नाका सञ्चालनका लागि कुरा उठाउने



काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले तातोपानी नाका तत्काल सञ्चालनका लागि चीन सरकारसँग पहल गर्ने बताउनुभएको छ ।

ललितपुरस्थित मन्त्री निवासमा आज राष्ट्रिय व्यापार संघको टोलीले ज्ञापनपत्र बुझाउने क्रममा उनले भूकम्पका कारण बन्द भएको तातोपानी नाका सञ्चालनमा ल्याउनेबारे चीन सरकारसँग पहल गर्ने बताए ।

चीनसँगको व्यापार व्यवसाय विस्तारका लागि सहज वातावरण बनाउन सरकार गम्भीर रहेको भन्दै उनले प्रधानमन्त्रीको चीन भ्रमणका समयमा यस विषयलाई पनि प्रमुखताका साथ उठाउनेसमेत जानकारी गराए ।

चीन नेपालको मुख्य व्यापारिक छिमेकी राष्ट्र बन्न सक्ने भन्दै मन्त्री ज्ञवालीले नेपालका व्यवसायीलाई सहजरुपमा चीन प्रवेशको व्यवस्था मिलाउन पहल गर्नेसमेत बताए ।

अहिले रसुवा जिल्लाका बासिन्दाका लागिमात्र चीनले प्रवेश पास दिँदै आएकामा अब देशैभरका व्यवसायीलाई एकदिने पासका लागि पहल गर्ने उनले जानकारी दिए ।

अहिले चीनसँगको नाका पुग्न केरुङको बाटो साँघुरो भएकाले यसलाई स्तरोन्नति गरी सहजरुपमा सवारी साधान सञ्चालनको व्यवस्था मिलाइने मन्त्री ज्ञवालीले बताए ।

उनलाई संघका अध्यक्ष युवराज न्यौपानेको टोलीले तातोपानी नाका खोल्नका लागि कूटनीतिक पहल गर्नुपर्ने, व्यापारीलाई सहजरूपमा चीनको प्रवेशाज्ञा उपलब्ध गराउनुपर्ने , नेपालबाट सामान ढुवानी गर्न जाने देशभरका कन्टेनरका चालकलाई अनुमति दिलाउनुपर्ने , केरुङको बाटो स्तरोन्नति गरिनुपर्नेजस्ता छ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका थिए ।


पुष्प दुलाल