सरकारले ढाट्यो, दशैंमा आउँदैन मेलम्चीको पानी



काठमाडौं । आगामी दशै अगावै काठमाडौं उपत्यकामा मेलम्ची आयोजनाको पानी ल्याइने भनेर सरकारले पुनः ढाँटेको छ ।

पछिल्लो पटक खानेपानी मन्त्रालय र आयोजनाको इटालिइन ठेकेदार सिएमसीबीच विवाद बढेपछि आयोजना दशै अगावै सम्पन्न हुने अवस्था करिब करिब सकिएको हो ।

तर खानेपानी मन्त्रालयले भने ठेकेदारले काम गरे, अझै पनि सम्भावना रहेको दावी गरेको छ ।

आयोजनाबारे सरकार र ठेकेदार कम्पनीबीच विवाद बढेसँगै दशैँअघि काठमाडौंमा मेलम्चीको पानी आउन सक्ने सम्भावना घटेको पाइउको छ ।

ठेकेदार कम्पनीले सम्झौतामा उल्लेख गरिएभन्दा बढी काम गरेको भन्दै प १ अर्ब ६५ करोड रकम रकम दावी गरेपछि दुवै पक्षबीच विवाद बढेको हो ।
सोही विवादका कारणले कारणले पछिल्लो समय १ महिनाभन्दा लामो समयदेखि आयोजनाको काम प्रभावित भएको बताइन्छ ।

मेलम्ची खानेपानी आयोजनाको सम्झौता गरिएभन्दा बढी माटो खन्नुपरेपछि ठेक्काको जिम्मा लिएको इटालियन ठेकेदार कम्पनी सीएमसीले सम्झौतामा उल्लेख गरिएभन्दा बढी रकम पाउनुपर्ने जिकिर गरेको छ ।

मेलम्ची विकास समितिले भने उक्त कामलाई इन्जिनियरको हिसाब अनुसार २८ करोड रूपैयाँ मात्रै उपलब्ध गराइसकेको छ ।

आगामी दशैँअघि नै काठमाडौंमा खानेपानी आउन नसक्ने अवस्था आएको छ ।
हेड बक्स खन्दा सम्झौतामा ३२ हजार घनमिटर थियो । पछि डाँडा नै काट्नुपर्दा १ लाख घन मिटर माटो खन्नुपरेको ठेकेदारको दावी छ ।

त्यसका लागि ठेकेदार कम्पनीले १ अर्ब ६५ करोड उपलब्ध हुनुपर्ने दावी गरेको छ ।
त्यसमा आयोजनाले ठेकेदारलाई थप २८ करोड उपलब्ध गराइदिएको थियो । तर ठेकेदारले निर्माण नै रोकेर निहुँ खोजेर बसेको खानेपानी मन्त्रालयका सचिव कृष्णराज बिसी बताउँछन् ।

मन्त्रालयले भने रकम विवादबारे जस्तो निर्णय भए पनि त्यसले काम भने प्रभावित हुन नहुने भन्दै आपत्ति प्रकट गरेको छ ।

सरकारले ठेकेदार कम्पनी सीएमसीको इटालीस्थित उच्च व्यवस्थापनलाई पत्र लेखेर दशै अगावै काठमाडौँमा पानी उपलब्ध गराउनुपर्ने र त्यसो नभए कानुनअनुसार ठेकेदारमाथि कारवाही गर्ने चेतावनी दिएको छ ।

खानेपानी मन्त्रालयका सचिव कृष्णराज बीसीका अनुसार ९० प्रतिशत काम भइसकेको छ । यो अवस्थामा विभिन्न बाहाना गरेर काम रोक्न पाइँदैन ।
जसरी पनि काम गर्नुपर्छ। नत्र हामी उनीहरूको उच्च अधिकारी बोलाएर भए पनि काम गर्न वाध्य पार्नेछौँ। त्यसो गर्दा पनि भएन भने ठेक्काको विषयमा नै पुनः विचार गर्नुपर्ने उनको भनाइ छ ।

आयोजना सम्पन्न हुने चरणमा पुगेपछि ठेकेदारले समय र लागत बढाउन अनेकन विवाद खडा गरेको सरकारी अधिकारीको भनाइ० छ ।
ठेकेदारले पछिल्लो दिनमा ६ स्थानमा सुरुङको मर्मत तथा बाँध निर्माणलगायतका काम गर्नुपर्नेमा रोकेर राखेको छ ।

उसले एक स्थानमा मात्रै काम गरिरहेको छ । जसका कारण दैनिक ३०० मिटर भन्दा बढी सुरुङ मर्मत हुनुपर्नेमा करिब ५६ मिटर मात्रै सुरुङ मर्मत भइरहेको छ ।
विगत दुई दशकदेखि चर्चामा रहेको मेलम्ची खानेपानीको निर्माण विगतमा चिनियाँ कम्पनीका कारण रोकियो भने पछिल्लो समय सुरुङ ब्रेक थ्रु भएपछि इटालीको कम्पनीले अवरोध गर्न खोजिरहेको छ ।

राष्ट्रिय गौरवको आयोजनामा अवरोध गरिए त्यसबाट पर्ने प्रभावका बारेमा सरकारले आवश्यक निर्णय लिने मन्त्रालयको भनाइ छ । ठेक्का सम्झौता नै खारेज गर्ने हो भन्ने प्रश्नमा सचिव बिसी भन्छन् – सकेसम्म ठेकेदार कम्पनीलाई फकाएर आयोजना निर्माणमा लगाउँछौ, हुँदै भएन भने ठेकेदारसँगको सम्झौता यही अवस्थामा रहिरहन्छ भन्ने त नहोला नी ?


पुष्प दुलाल