मूख्यमन्त्री शाही भन्छन्- एनजीओ/आइएनजीओले कर्णालीलाई परनिर्भर बनाए



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले इयूका प्रतिनिधिलाई कर्णालीको आवश्यकतामा आधारित विकासका काम गर्न सुझाएका छन् ।

नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिका कोडी नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटवार्तामा मुख्यमन्त्री शाहीले यस्तो सुझाव दिएका हुन् । सानातिना सहयोगका नाममा गैरसरकारी संस्थाले कर्णालीलाई परनिर्भर बनाएको औँल्याउँदै मुख्यमन्त्री शाहीले भने, ‘दिगो प्रतिफल निकाल्ने गरी न्यूनतम रु एक करोडभन्दा माथिको लगानी गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैससलाई स्थान दिन्छौँ ।’

कर्णालीका महिला तथा बालबालिकाको पोषण क्षेत्रमा काम गर्दै आएकोप्रति यूरोपियन युनियनलाई धन्यवाद दिँदै उनले भने, ‘युनियनको मापदण्डमा मिल्छ भने प्रथमतः कर्णालीको पूर्वाधार विकासमा सहयोग गर्नुस्, जसले अहिले पनि घण्टौँ पिठ्यूँमा नानी बोक्ने महिलालाई सघाउनेछ ।’

कर्णालीमा चामल, चाउचाउ, बिस्कुट बाँड्ने गैससले यहाँका नागरिकमा परनिर्भरता बढाएको उनको भनाइ थियो ।

उनले कर्णाली सरकार यतिबेला यो प्रदेशको विकासका लागि दूरगामी योजना बनाइरहेको छ र अब निकट भविश्यमै लगानीकर्तालाई आकर्षण गर्ने हेतुले अन्तर्राष्ट्रिय लगानी सम्मेलन कर्णालीमा गर्ने तयारीमा रहेको बताए । सबै गैससलाई एकद्वार प्रणालीमा आएर काम गर्न पनि उनले आग्रह गरे ।

राजदूत कोडीले युनिसेफको साझेदारीमा नेपाल सरकारसँगको सहकार्यमा बहुक्षेत्रीय पोषण योजनाको काम गर्दै आएको र अब दोस्रो चरणको कार्यक्रम शुरु गर्न थालिएको बताए ।

औसतमा नेपालमा ३७ प्रतिशत बालबालिका पुड्को रहेकोमा कर्णालीमा ६७ प्रतिशतमा पुड्कोपन देखिएको राजदूत कोडीले बताए ।

‘हामीले भर्खरै कालीकोटमा बहुक्षेत्रीय पोषण योजना अनुगमन गरेर आयौँ, स्थानीय तहका जनप्रतिनिधि र महिलासँग छलफल ग¥यौँ, राम्रै प्रभाव देखियो,’ राजदूत कोडीले भने । कुपोषणले यहाँको स्वास्थ्य अवस्थामा मात्र नभएर विकासमा पनि असर पार्ने कुरालाई ध्यानमा राखेर इयूले २.२ मिलियन यूरो छुट्याएको उनको भनाइ थियो ।

उनले इयूको कूल बजेटको ६० प्रतिशत बजेट पोषणमा खर्च गर्दै आएको जानकारी दिए । भेटघाटमा राजदूत कोडी, युनिसेफका नेपाल प्रतिनिधि टोमु होजुमीसहितको टिमले कर्णाली प्रदेश सरकारसँग हातेमालो गरेर विकास साझेदार भएर काम गर्ने बताएको छ । रासस


पुष्प दुलाल