कम्युनिष्ट बजेटलाई सेयर बजारको लाल सलाम !



काठमाडौं । कम्युनिष्टका लागि रातो रंग प्रिय मानिन्छ । शुभ मानिन्छ । त्यहि भएर होला अर्थमन्त्री डा. युवराज खतिवडाले निरन्तरताको क्रमभंगता गर्दै मंगलबार रोतो ब्रिफकेसमा रातै रिवनले बाँधेको बजेट बोकेर संसद भवन पुगे । नेपालको इतिहासमा यसअघिका बजेट कालो ब्रिफकेसमा रातो रिवन बाँधिएको हुन्थ्यो ।

अर्थमन्त्री खतिवडाको लाल मोह उनको बजेट ब्रिफकेसबाटै बुझिन्थ्यो । त्यहि भएर होला खतिवडाको बजेटलाई सेयर बजार सूचक (नेप्से इन्डेक्स)ले लाल सलाम गरेको छ ।

केपी शर्मा ओली नेतृत्वमा बामबन्थीको सरकार गठन भएदेखि सेयर बजार सूचक लगातारजसो घटेको थियो । लगानीकर्ताहरुसँग कुरा गर्दा अर्थमन्त्रीले बजेटमा कस्तो सम्बोधन गर्छन्, हामी त्यो कुरेर बसेका छौं भन्थे ।

बजेटमा अर्थमन्त्रीले सेयर बजारलाई खासै नकरात्मकरुपमा लिएका छैनन्, जति उनले सार्वजानिक भाषणहरुमा लिन्थे ।

तैपनि सेयर बजारमा गएको पहिरो थामिएन । बजेटको भोलिपल्ट नेप्से सूचक ५ अंकले घटेको छ । फाइनान्स, माइक्रोफाइनान्स र इन्स्योरेन्सबाहेक सबै उपसूचकहरु राताम्यै भएका छन् । नेप्सेमा रातो रंगले घटेको संकेत गर्छ ।

अर्थमन्त्रीले बजेटमार्फत् १ अर्बभदा माथि लगानीका उत्पादनमूलक निजी उद्योगले अनिवार्यरुपमा साधारण सेयर (आइपिओ) जारी गर्नुपर्ने व्यवस्था गरेका छन् ।

त्यस्तै, ५० करोडभन्दा माथि लगानी भएका निजी उद्योगहरुले सर्वसाधारणलाई सेयर जारी गरे ३ वर्षसम्म १० प्रतिशत आयकर छुट दिने बजेटले घोषणा गरेको छ ।

यी दुबै व्यवस्था सेयर बजारको दीर्घकालीन विकासका लागि कोषेढुंगा बन्न सक्छन् ।

तर, बजेटमा गरिएको यी व्यवस्था कसरी र कहिलेदेखि कार्यान्वयनमा आउँछ भन्नेमा लगानीकर्ताहरु शशंकित छन् ।
सकरात्मक व्यवस्था गरिएपनि कार्यान्वयनको अन्यौलताका कराण त्यसाको प्रभाव तत्कालै बजारमा नपरेको हुनुसक्छ ।

त्यस्तै, अर्थमन्त्रीले लामो समयदेखि विवादमा रहेको सेयर ब्रोकरको कमिशनमा भ्याट प्रकरणलाई पनि बजेटले सकरात्मकरुपमा सम्बोधन गरेको छ । बजेटले ब्रोकर कमिशनमा भ्याट नलिने घोषणा गरेपछि सेयर ब्रोकरहरु खुसी छन् । लामो समयदेखि भ्याटको त्रासमा रहेका लगानीकर्ताहरुलाई अर्थमन्त्रीले सकरात्मक सम्बोधन गरेका छन् । यद्यपि त्यसको प्रभाव बजारमा देखिएन ।

तर, अर्थमन्त्री खतिवडाले सेयर लगानीकर्ताहरुले सेयर बिक्री गर्दा हुने नाफामा तिर्नुपर्ने कर बढाएका छन् । यसअघि सेयर बिक्री गर्दा भएको कमाइमा ५ प्रतिशत मात्रै पुँजीगत लाभ तिर्नु पर्थ्यो । अर्थमन्त्री खतिवडाले त्यसलाई बढाएर ७ प्रतिशत पुर्याएका छन् । अर्थमन्त्रीको यो व्यवस्थाले भने लगानीकर्ताहरु हच्किए । जसकारण बजेटको भोलिपल्ट पनि सेयर बजार सूचक राताम्यै भयो ।


पुष्प दुलाल