यी हुन् प्रधानमन्त्री र अर्थमन्त्रीको प्रदेशमा धेरै बजेट छुट्याइएका ५ ठूला आयोजना



मोरङ । प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्नो प्रदेशमा उल्लेख्य बजेट बिनियोजन गरेका छन् । आर्थिक वर्ष २०७५/०७६ का लागि सरकारले ल्याएको बजेटमा १ नम्बर प्रदेशको जोगबनी–किमाथांका सडक, विराटनगर विमानस्थल, तमोर तथा कन्काई जलविद्युत् आयोजना तथा मदन भण्डारी राजमार्गलाई समावेश गरिएको छ ।

अर्थमन्त्री खतिवडाले मंगलबार प्रस्तुत गरेको बजेटमा जोगबनीदेखि किमाथांकासम्मको सडक निर्माणलाई पनि प्राथमिकताका साथ समेटिएको छ । यो सडकले चीन र भारतलाई जोड्नेछ । हाल यो निर्माणाधीन छ । तर, बजेट अभावका कारण निर्माणले गति लिन सकेको छैन ।

बजेटमा विराटनगर विमानस्थलको स्तरोन्नति गरी क्षेत्रीय विमानस्थल बनाउने उल्लेख छ । क्षेत्रीय विमानस्थल बनाएर अन्तर्राष्ट्रिय उडानसमेत शुरु गर्ने बजेटमा समेटिएको छ । झापादेखि कञ्चनपुरसम्म मदन भण्डारी भित्री राजमार्ग निर्माणका लागि ४ अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ । यसको प्रस्थानबिन्दु झापाको शान्तिनगर हो ।

झापाबाट शुरु भई डडेल्धुरासम्म पुग्ने यो राजमार्ग एक हजार २०० किलोमिटर लामो हुनेछ जसमा अहिले धरान—चतरादेखि हेटौँडासम्मको काम अघि बढिसकेको छ । ३ सय किलोमिटरको यो खण्ड निर्माण सकिन लागेको छ जसका लागि सरकारले चालू आवमा ३ अर्ब १५ करोड विनियोजन गरेको थियो ।

यसैबीच, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ कार्यवाहक अध्यक्ष राजेन्द्र राउतले सोचेजस्तो बजेट नआएको बताए ।

‘बजेटकै आधारमा निराश हुनुपर्ने अवस्था पनि छैन,’ उनले भने ।

बलियो जनमत प्राप्त सरकारले अपेक्षाअनुसारको बजेट भने ल्याउन नसकेको उनको प्रतिक्रिया थियो । मूल्य अभिवृद्धि कर फिर्ता नहुँदा महँगी बढ्ने उनले बताए । उत्पादनमूलक क्षेत्रमा बजेटले खासै ध्यान नदिएको कार्यवाहक अध्यक्ष राउतले बताए ।
उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले भने, ‘आव २०७५÷७६ को नीति र कार्यक्रम आशाजनक छ । व्यापार घाटा कम गराउन स्वदेशी उद्योगलाई उत्प्रेरणा गर्न कृषि क्षेत्रको अनुदान, स्वास्थ्य क्षेत्रको स्वास्थ्यसेवा कर खारेजजस्ता योजनाबाट आशा गर्न सकिने छ ।’

त्यसैगरी, मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले विराटनगर विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउने, प्रत्येक प्रदेशमा विशेष आर्थिक क्षेत्र ९सेज०को विकास गरिने, स्मार्ट सिटीको परिकल्पनाजस्ता कार्यक्रम राम्रो भएको बताए ।

‘विशेष आर्थिक क्षेत्रको विकास गरिने, स्मार्ट सिटीको परिकल्पनाजस्ता कार्यक्रम राम्रो छ,’ उनले भने ।

सरकारले सार्वजनिक गरेको आव २०७५÷७६ को नीति र कार्यक्रम कार्यान्वयन गर्न कूल १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट विनियोजन गरेको थियो । रासस


पुष्प दुलाल