कम्युनिष्ट सरकारको बजेटः धनीलाई थपियो करको भार, मध्यम वर्ग र गरिबलाई राहत



काठमाडौं । आर्थिक वर्ष २०७५/०७६ देखि आय करमा नयाँ व्यस्था लागु हुने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आज बजेट सार्वजनिक गर्दै करका नयाँ दर लागू गरेका हुन् ।

अब आयकरलाई १०, २० र ३० प्रतिशत तोकिएको छ । यसअघि सरकारले आय करमा १५ र २५ प्रतिशतको सीमा तोकेको थियो । प्रगतिशिल कर प्रणाली लागु गर्ने भन्दै सरकारले आय करमा नयाँ व्यवस्था लागु गरेको हो ।

हाल अविवाहित व्यक्तिलाई साढे ३ लाखसम्म १ प्रतिशत, साढे ३ लाखदेखि साढे चार लाखसम्ममा १५ प्रतिशत, साढे ४ लाखदेखि २५ लाखसम्ममा २५ प्रतिशत आयकर तिर्नुपर्ने व्यवस्था थियो ।

तर अब यो व्यवस्था परिवर्तन भएर अब साढे ३ लाख सम्म आम्दानी गर्ने व्यक्तिले १० प्रतिशत आय कर तिर्नुपर्ने हुन्छ, साढे ३ लाखदेखि साढे ४ लाखसम्म आम्दानी गर्नेले २० प्रतिशत आय कर तिर्नुपर्ने छ । त्यस्तै साढे ४ लाखभन्दा माथि आम्दानी गर्नेले ३० प्रतिशत आय कर तिर्नुपर्ने छ ।

यस अघि विवाहित हकमा ४ लाखसम्म आम्दानी गर्ने दम्पतीले १ प्रतिशत, ४ लाखदेखि ५ लाखसम्ममा १५ प्रतिशत, पाँच लाखदेखि २५ लाखसम्म २५ प्रतिशत र २५ लाखभन्दा बढीमा ४० प्रतिशत आयकर लाग्ने व्यवस्था छ ।

यो व्यवस्था परिवर्तन भएर अब ४ लाखसम्म आम्दानी गर्ने दम्पतीले १० प्रतिशत आय कर तिर्नुपर्ने छ, ४ लाखदेखि ५ लाख सम्म आम्दानी गर्ने दम्पतीले २० प्रतिशत र ५ लाख भन्दामाथि आम्दानी गर्ने दम्पतीले ३० प्रतिशत आय कर तिर्नुपर्ने छ ।

आय करको यो नयाँ व्यवस्थाले थोरै आम्दानी गर्ने दम्पती र व्यक्तिलाई भने लाभ हुने देखिएको छ ।


पुष्प दुलाल