बजेटः सरकारले नै निजामति कर्मचारीको स्वास्थ्य बीमा गरिदिने, भत्ता बढ्ने, तलब नबढ्ने



काठमाडौं । सरकारले बजेटमार्फत कर्मचारीको तलब नबढाउने भएको छ । तर, भत्ता भने बढाउने भएको छ ।

त्यस्तै, तलब वृद्धिको बिकल्पमा सरकारले सबै कर्मचारीहरुको स्वास्थ्य बीमा गरिदिने भएको छ ।

कर्मचारीलेहरुले तलब बढाउनुपर्ने माग गर्दै आएका थिए । तलब वृद्धिको माग गर्दै अर्थ मन्त्रालय पुगेका कर्मचारी युनियनका नेताहरुलाई अर्थमन्त्री डा. युवराज खतिवडाले ढुकुटी रित्तो भएकाले तलब बढाउन नसकिने जवाफ दिएका थिए ।

अर्थमन्त्रीले तलब नबढाउने निश्चित भएपछि कर्मचारी युनियनका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीकहाँ पुगेका थिए ।

आइतबार मात्रै निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्य ढकाल र उपाध्यक्ष भोला पोखरेलले प्रधानमन्त्री ओलीलाई भेटेर तलब बढाइदिन आग्रह गरेका थिए ।

सो अबसरमा प्रधानमन्त्री ओलीले आफू कर्मचारीको तलब बढाउनु पर्छ भन्ने पक्षमा रहेको बताए ।

‘म पनि कर्मचारीको तलब बढाउनुपर्छ भन्ने पक्षमा छु, अर्थमन्त्रीलाई भन्छु, सकेसम्म बढाउँछौं,’ प्रधानमन्त्रीको भनाइ उदृत गर्दै भेटमा सहभागी एक कर्मचारीले क्लिकमाण्डूसँग भने, ‘अवश्य पनि केही भत्ता बढाउँछौ । र, सबै कर्मचारीको स्वास्थ्य बीमा गरिदिन्छौं ।’

कति प्रतिशतले भत्ता बढाउने र कति रकम बराबरको स्वास्थ्य बीमा गरिदिने भन्ने बारे प्रधानमन्त्रीले अंक नभनेको कर्मचारी नेताले बताए ।

कर्मचारीको तलब÷भत्ता नबढाउने हो भने सरकारसँग कर्मचारीहरु असन्तुष्ट हुने भन्दै कर्मचारीका नेताले प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका थिए । कर्मचारी खुसी नभए सरकारलाई काम गर्न कठिन हुने उनीहरुले प्रधानमन्त्रीलाई सुझाए ।

उनीहरु दुबै पहिले नेकपा एमाले र अहिले नेपाल कम्युनिष्ट वार्टी निकट कर्मचारी संगठनका नेता पनि हुन् ।

अर्थमन्त्री अतिवडाले भोलि (मंगलबार) आर्थिक वर्ष २०७५/०७६ को बजेट संसदमा प्रस्तुत गर्दैछन् ।

स्वेच्छिक अवकास हुँदैन

भेटका क्रममा प्रधानमन्त्री ओलीले निजामति कर्मचारीलाई स्वेच्छिक अवकास दिन नसकिने बताए ।

‘सरकारले कर्मचारीलाई तत्काल स्वेच्छिक अवकास दिन सक्दैन, कुनै कर्मचारी ९० दिनसम्म हाजिर हुन आउँदैन भने उसलाई सेवाबाट बर्खास्त गरिनेछ,’ प्रधामन्त्रीको भनाइ उदृत गर्दै एक नेताले भने ।


पुष्प दुलाल