खोकनाबासीले जग्गाको मुअब्जा धेरै मागेपछि फास्ट ट्र्याकको प्रस्थानबिन्दू फेरिँदै



खोकना । राष्ट्रिय गौरवको काठमाडौँ–तराई–मधेश द्रुत राजमार्गको खोकनास्थित यसअघि प्रस्तावित प्रस्थानविन्दु फेरिने संकेत देखिएको छ ।

स्थानीयवासीबाट सम्बोधन नै गर्न नसकिने मुआब्जा माग, तीव्र राजनीतीकरण र पुरातात्विक सम्पदाका कारण प्रस्थानविन्दुबारे लामो विवाद भएपछि तेस्रो विकल्पमा सहमति भएको हो ।

एशियाली विकास बैंकले गरेको सम्भाव्यता अध्ययन प्रतिवेदनमा राजमार्गका लागि रेखांकन गरिएको क्षेत्रमा सिकाली मन्दिर र कुदेशजस्ता पुरातात्विक सम्पदा परेपछि स्थानीय जनताबाट विरोध भएको थियो ।

विरोधपछि दोस्रो विकल्पका रुपमा नेपाली सेनाले सिकाली र कुदेश क्षेत्रमा दुई किलोमिटर क्षेत्रमा राजमार्गका लागि पुनःरेखाङ्कन गरी मन्दिर र कुदेशलाई संरक्षण गर्ने विकल्प प्रस्तुत गरे पनि मुआब्जा विवाद भने कायमै थियो ।

स्थानीय जनताको मुआब्जासम्बन्धी विवाद नसुल्झेपछि सेनाले तेस्रो विकल्पका रुपमा खोकनाबाट झण्डै पाँच किमी दक्षिणपूर्व बुङ्मतीको फर्सीडोलमा प्रस्थानविन्दुको अध्ययन ग¥यो । त्यहाँ दु्रतमार्गको ‘जिरो’ विन्दु बनाउन स्थानीय जनता, जनप्रतिनिधि र आयोजना कार्यान्वयनको जिम्मेवारीमा रहेको नेपाली सेनाबीच प्रारम्भिक सहमति भएको छ । सरकारले भने त्यसलाई अनुमोदन गर्न बाँकी छ ।

फर्सीडोल ललितपुर महानगरपालिकाको २२ नं वडामा पर्छ । फर्सीडोलमा प्रस्थानविन्दु बनाउँदा बस्तीहरु कम पर्ने र राजमार्गको लम्बाइसमेत छोटो हुने देखिएको छ ।

नेकपाकी नेत्री पम्फा भुसालले ऐतिहासिक गाउँबस्ती पर्ने भएकाले खोकनाबाट नभई फर्सीडोलमा नै दु्रतमार्गको प्रस्थानविन्दु बनाउँदा वैज्ञानिक हुनेमा स्थानीयवासी र जनप्रतिनिधिबीच सहमति भएको जानकारी दिए ।

‘खोकनामा अहिले देखिएको समस्या दु्रतमार्गभन्दा बाहिरी चक्रपथको हो, फर्सीडोलका बासिन्दासँग छलफल गरी चित्तबुझ्दो मुआब्जा दिएर आयोजनालाई अघि बढाउनुपर्छ,’ उनले भने ।

सरकारले गत साउनमा मुलुकको आर्थिक विकासका लागि मेरुदण्डका रुपमा हेरिएको ७६ किमीको दु्रत राजमार्ग चार वर्षभित्र पूरा गर्ने गरी नेपाली सेनालाई निर्माणको जिम्मेवारी दिएको थियो ।

उक्त राजमार्गको विस्तृत परियोजना प्रतिवेदन बनाउन बाँकी रहे पनि करीब १ खर्ब १६ अर्ब रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

रक्षामन्त्री ईश्वर पोखरेलले खोकना र बुङ्मती क्षेत्रको आज स्थलगत भ्रमण गरी जनतासँग छलफल गरेर दु्रतमार्ग प्रस्थानविन्दु र रेखाङ्कनबारे प्रतिनिधिमूलक सुझाव दिन आग्रह गरे ।

‘मुआब्जाबारे न्यायोचित भनाइ सुन्नुपर्छ, अन्याय नै परेर जनता विस्थापित हुने अवस्था आएमा राज्यले सोच्नुपर्छ, विकास निर्माणको काममा नरम भई सहयोग गरिदिन आग्रह गर्दछु । सेनाले दु्रतमार्ग निर्माणमा तत्परताका साथ काम गरेको छ ।’ उनले भने ।

सो अवसरमा केही खोकनावासीले भने औचित्यपूर्ण मुआब्जाको मागलाई सम्बोधन गर्न तथा अधिकांशले मुआब्जा लिएकाले दु्रतमार्गको रेखाङ्कन नफेर्न आग्रह गरे ।

आयोजना प्रमुख उपरथी योगेन्द्र खाँडले खोकनामा दु्रतमार्गको अतिरिक्त बाहिरी चक्रपथ, १३२ केभी प्रसारण लाइनजस्ता आयोजनाले आफूहरु प्रभावित र विस्थापित हुन्छौँ भन्ने स्थानीय जनताको भनाइका कारण विकल्प खोज्ने क्रममा फर्सीडोलको सम्भाव्य अध्ययन भएको बताए ।

‘बाहिरी र भित्री चक्रपथबीचमा नै द्रुतमार्गका प्रस्थान विन्दु रहँदा राम्रो हो तर जेमा निर्णय भए पनि यथाशीघ्र निर्णय होस्, त्यसो भएमा हामीलाई काम गर्न सहज हुन्छ,’ उनले भने ।

फर्सीडोलमा बाहिरी चक्रपथसँग जोडिने गरी दु्रतमार्गको निर्माणपछि १४ मिटर चौडाइका चार चार किमीका सम्पर्क सडक निर्माण गर्नुपर्ने आवश्यकता देखिएको नेत्री भुसाल बताउँछ्न् । रासस


पुष्प दुलाल