तीन वर्ष भित्र सबै मालपोत कार्यालयमा अनलाइन प्रणाली




काठमाडौं । भुमिसूधार तथा व्यवस्थापन विभागले अबको ३ वर्ष भित्र सबै मालपोत कार्यालयमा अनलाईन प्रणाली जडान गर्ने भएको छ । विभागले सबै मालपोत कार्यालयमा अनलाइन प्रणाली राख्नको लागि तिब्र तयारीमा लागेको जानकारी दिएको हो ।

अहिले १ सय २९ वटा मालपोत कार्यलयहरु छन् । तीमध्ये २३ वटामा अनलाइन सिस्टम जडान गरिसकिएको विभागको भनाइ छ । अन्य १ सय ६ वटा मालपोत कार्यालयमा अनलाइन सिस्टम जडान गर्न बाँकी रहेको विभागले जानकारी दिएको छ ।

भक्तपुर, ललितपुर, डिल्लीबजार, चाबहिल, कलंकी, मनमैजु, टोखा, धादिङ, चितवन, खैरेनी, चनौली, माडी, मकवानपुर, सिखरकोट, भद्रपुर झापा, विराटनगर मोरङ, पर्सा, बाग्लुङ, बाँके, पोखरा, लेखनाथ र कास्कीका मालपोत कार्यालयहरुमा अनलाइन सिस्टम जडान गरिएको विभागका शाखा अधिकृत रमेश कुमार कोइरालाले जानकारी दिए ।

यी मालपोत कार्यालयहरुमा अनलाइन सिस्टम जडान भएकै कारण धेरै राजस्व उठेको उनको भनाइ छ । यी कार्यालयहरुमा ३ वर्ष लगाएर अनलाइन सिस्टम जडान गरिएको उनले जानकारी दिए ।

अनलाइन सिस्टम जडान भए पछि मालपोत कार्यालयहरुबाट ३ वर्षमा उठ्ने पूँजीगत लाभकर १ वर्षमै उठाउन सफल भएको कोइरालाले बताए ।

‘३ वर्ष लगाएर २३ वटा मालपोत कार्यालयमा अनलाइन सिस्टम जडान गरियो, अब बाँकी १ सय ६ वटामा अनलाईन सिस्टम जडान गर्न कति समय लाग्ने हो त्यो पछि नै थाहा होला, हाम्रो लक्ष्य ३ वर्ष हो,’ उनले क्लिकमाण्डूसँग भने ।

अनलाइन सिस्टमका लागि एक भारतीय कम्पनीले सफ्टवेर बनाइसकेको छ । सफ्टवेर बनाउनकै लागि १४ करोड बढी खर्च लागेको विभागले जानकारी दिएको छ ।

‘५ स्थानमा अनलाइन जडान गर्ने क्रममा नै १४ करोड रुपैयाँ बराबर खर्च भएको थियो, अब देशभरकै मालपोत कार्यालयमा अनलाइन सिस्टम जडान गर्नुछ, यसका लागि कती खर्च लाग्छ त्यो यकिन भन्न सकिदैन,’ कोइरालाले भने ।

मालपोत कार्यालयमा अनलाइन सिस्टम जडान गरिएपछि हरेकको पुर्जा मालपोत कार्यलयको सर्भरमा बस्ने भएकाले कुनै कागजपत्र हराउने समस्या नहुने उनले बताए ।

अनलाइन सेवा लागू भएपछि तथ्याङ्कमा सरलता हुने, राजस्व रकम गणनामा सहजता तथा पारदर्शिता हुने, किर्ते कारोबारमा कमी आउने, जग्गाको हदबन्दी कार्यक्रम कार्यान्वयन गर्न सहज हुने, अनलाईन अनुगमन गर्न सकिने र उपभोक्ताले सुरक्षाको प्रत्याभूति महसुस गर्न पाउने कोइरालाले बताए ।


क्लिकमान्डु