तलब बृद्धिको माग गर्ने कर्मचारीलाई अर्थमन्त्रीले भने- ढुकुटीमा पैसा भए पो बढाउनू



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले यो वर्ष निजामति कर्मचारीको तलब बढाउन नसकिने बताएका छन् । तलब बढाउनु पर्ने माग राख्न अर्थ मन्त्रालय पुगेका निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका नेताहरुलाई यो वर्षको बजेटमा कर्मचारीको तलब नबढ्ने जवाफ दिए ।

कर्मचारी युनियनले मूख्य सचिबको डेढ लाख र कार्यालय सहयोगीको ३० हजार रुपैयाँ तलब बनाउन माग गरेका थियो । युनियनको १८ बुँदे माग राखेका थिए ।

‘म पनि तपाईंहरुजस्तै कर्मचारी थिएँ, अहिले अर्थमन्त्री छु, त्यसैले तपाईंहरुको कुरा बुझ्छु,’ अर्थमन्त्री खतिवडाको भनाइ उदृत गर्दै कर्मचारी युनियनका एक पदाधिकारीले क्लिकमाण्डूसँग भने- ‘दिन त तपाईंहरुलाई दिनै पर्ने हो । तर ढुकुटीमा पैसा छैन । अहिलेको आर्थिक अवस्था बारे तपाईंहरुले बुझ्नुभएकै छ । म थप के भनूँ ।’

यद्यपि म आफू सकेसम्म कर्मचारीको मागको सम्बोधन गर्ने प्रयास उनले आश्वासन दिए ।

यस्तो जवाफ पाएपछि कर्मचारी युनियनका नेताहरु निराश भएर फर्किएनन् मात्रै अर्थमन्त्री डा. खतिवडाप्रति आक्रोशित पनि भए ।

‘मन्त्रीज्यूसँग हामीले उहाँको खल्तीको पैसा मागे जस्तो गर्नुभयो,’ ती कर्मचारीले भने, ‘हामी राष्ट्रसेवक कर्मचारी हौं, उहाँले राष्ट्र सेवकको जस्तो व्यवहार गर्नुभएन । दुख लाग्यो ।’

हरेक वर्ष बजेट आउने बेलामा कर्मचारी युनियनका नेताहरु अर्थमन्त्रीलाई तलब भत्ता बढाउन दबाब दिन्छन् । बढाए खुसी हुन्छन् ।

कर्मचारी युनियनका नेताहरुले स्वेच्छिक अवकासको कुरा पनि उठाएका थिए । यस्तो माग सुन्नेवित्तिकै अर्थमन्त्री खतिवडाले मुसुक्क हाँसेर अहिले यो माग उठाउने उपयुक्त समय नभएको जवाफ दिए ।

‘स्वेच्छिक अवकासको विषयमा पछि बसेर छलफल गरौंला, अहिले यो उपयुक्त समय होइन,’ मन्त्री खतिवडाको जवाफ थियो ।


पुष्प दुलाल