अर्थमन्त्री खतिवडासँग प्रधानमन्त्री ओली असन्तुष्ट भएकै हुन् ?



काठमाडौं । तत्कालीन नेकपा एमालेका पार्टी महासचिव इश्वर पोखरेल अर्थमन्त्री बन्न चाहन्थे । तर, एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले आफ्नो गृहजिल्ला झापा स्थायी घर भएका डा. युवराज खतिवडालाई अर्थमन्त्री बनाए ।

पछिल्लो समय डा. खतिवडाले ओलीको विश्वास कति जितेका रहेछन् भन्ने उदाहारण हो, पार्टी महासचिवलाई पाखा लगाउँदै अर्थमन्त्री बन्न सफल हुनु ।

आफूले यति विश्वास गरेर अर्थमन्त्री बनाएको व्यक्तिसँग प्रधानमन्त्री ओली पछिल्लो महिना भने असन्तुष्ट बनेका छन् । यतिसम्म कि बजेट ल्याएपछि अर्थमन्त्री नै फेर्ने तयारी समेत भइरहेको समाचार स्रोतहरुको भनाइ छ ।

हप्ता दिनअघि तत्कालीन माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी एक मन्त्री प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे ।

‘प्रधानमन्त्री ओलीले पार्टीभित्रको शक्ति सन्तुलनका लागि नेपाल पक्षका नेतालाई यो बजेटपछि अर्थमन्त्री दिनसक्ने संकेत गर्नुभएको छ’ उनले भने ।

प्रधानमन्त्रीसँगको भेटमा ती मन्त्रीले बजेट निर्माण प्रक्रियामा अर्थमन्त्रीले आफूहरुसँग कुनै सल्लाह नै नगरेको, एकलौटी तरिकाले बजेट बनाएको भन्दै गुनासो गरे ।

ती मन्त्रीको गुनासो सुनेपछि ओलीले जवाफ दिए- ‘राजनीति नगरेको मान्छेलाई एकैपटक मन्त्री पद दिँदा समस्या हुँदो रहेछ । अर्थमन्त्रीका गतिविधिलाई मैले पनि नियालिरहेको छु, जे सोचेको थिएँ । त्यो पाइँन ।’

ओलीको सो जवाफले माओवादीका ती मन्त्रीको चित्त बुझेन । र, थपे- ‘हामी सरकारमा चाहीँ हुने तर बजेट कस्तो बन्दैछ भन्ने केही पनि थाहा नहुने हो भने हामी यसभन्दा अघिको यात्रा कसरी सँगसँगै गर्न सक्छौं र प्रधानमन्त्रीज्यू ? यस्ता कुराले पार्टी एकतामा समेत असर पार्ने देखिन्छ ।’

त्यसको केहीदिन अघि बजेट निर्माणमा माओवादीलाई संलग्न नगराएको भन्दै माओवादीका नेता तथा सांसदहरुले अध्यक्ष प्रचण्डलाई गुनासो गरेपछि प्रचण्डले पनि प्रधानमन्त्री ओलीलाई यस्तै भनेका थिए ।

ती मन्त्रीको कुरा सुनेपछि प्रधानमन्त्री ओली अलि बढी नै भावुक बने । पार्टी एकता गरेरै छाड्ने मुडमा पुगेका ओली कतै माओवादी बिच्किने पो हो कि भनेर केही चिन्तित पनि थिए ।

‘म अर्थमन्त्रीलाई भन्छु, तपाईंहरु चिन्ता नगर्नुहोस्,’ प्रधानमन्त्री ओलीको भनाई उदृत गर्दै ती मन्त्रीले क्लिकमाण्डूसँग भने, ‘अब बजेट निर्माणमा तपाईंहरुको देखिनेगरिको भूमिका हुन्छ । कम्तिमा खतिवडालाई यो बजेटचाहीँ ल्याउन दिऔं । त्यसपछि अवस्था अर्कै हुनसक्छ ।’

प्रधानमन्त्रीले पनि अर्थमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि जनाएपछि ती माओवादी मन्त्री थामिए ।

माधव नेपाल प्रधानमन्त्री हुँदा खतिवडा माधव नेपाल गुटका थिए । ओली शक्तिमा आएपछि खतिवडाले एकाएक गुट परिवर्तन गरे ।

मंसिर १० को निर्वाचन सकिएपछि माधव नेपाल गुटले आयोजना गरेको एक भेलामा खतिवडालाई पनि निम्या गरिएको थियो । तर, खतिवडाले आफूं ओली गुटमा खुलेरै लागेको हुनाले नेपाल गुटको भेलामा आउन नसक्ने जवाफ दिएका थिए ।

खतिवडाको यस्तो जवाफ सुनेपछि माधव नेपाल गुटका नेताहरु फायर भए । उता आफूलाई अर्थमन्त्री हुन नदिएकोमा इश्वर पोखरेल पनि फायर छन् ।

ओलीका अर्का विश्वासपात्र प्रदिप ज्ञवाली पनि अर्थमन्त्री बन्न चाहन्थे । डा. खतिवडाकै कारण ज्ञवाली पनि अर्थमन्त्री बन्न पाएनन् । उनी पनि खतिवडासँग सन्तुष्ट छैनन् ।

खतिवडालाई अर्थमन्त्री बनाए पनि प्रधानमन्त्री ओलीले अर्थ मन्त्रालय मातहत रहेका अति महत्वपूर्ण राजस्व अनुसन्धान विभाग र सम्पत्ति सुद्धिकरण अनुसन्धान विभाग आफूसँगै राखे ।

बजेट निर्माणका क्रममा अर्थमन्त्री खतिवडाले पार्टीभित्रै पनि माधव नेपाल र इश्वर पोखरेल गुटसँग कुनै छलफल नगरेको ब्यापक गुनासो छ । नेपाल गुटका नेताहरुले प्रधानमन्त्री ओलीसमक्ष पटकपटक यस्तो असन्तुष्टि व्यक्त गरिरहेका छन् । माधव नेपाल गुटका नेताहरुसँग पनि प्रधानमन्त्री ओलीले बजेट ल्याउञ्जेल चुपचाप बसिदिन आग्रह गरेको नेपाल गुटका एक नेताले बताए ।

‘पार्टीले बनाएको अर्थमन्त्रीले पार्टीकै नेताहरुसँग छलफल नगरेपछि असन्तुष्टि चुलिएको छ, तर पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्रीले आफू पनि अर्थमन्त्रीसँग सन्तुष्ट नभएको र बजेट ल्याउञ्जेल पर्खिन आग्रह गर्नुभएको छ,’ ती नेताले भने ।

ती नेताका अनुसार बजेट ल्याएपछि प्रधानमन्त्रीले माधव नेपाल गुटका व्यक्तिलाई अर्थमन्त्री बनाउने संकेतसमेत गरेका छन् ।

‘ओलीले पार्टीभित्रको शक्ति सन्तुलनका लागि नेपाल पक्षका नेतालाई अर्थमन्त्री दिनसक्ने संकेत गर्नुभएको छ, त्यसैले हामी बजेट आउञ्जेल चुपचाप बसेका हौं,’ उनले भने ।

अहिले एमाले र माओवादी पार्टी एकीकरण भइसकेको छ । यद्यपि अर्थमन्त्रीले आफूहरुसँग सल्लाह नगरी बजेट बनाइरहेको गुनासो भने पार्टीभित्र अझै रोकिएको छैन ।

प्रधानमन्त्री ओलीले अर्थमन्त्रीसँग असन्तुष्ट पक्षधरलाई खुसी बनाउनका लागि आफू पनि असन्तुष्ट भएको बताएका हुन् कि साँच्चिकै असन्तुष्ट भएका हुन् त्यो भने हेर्न बाँकी नै छ ।


पुष्प दुलाल