ट्याक्सीमा बिलिङ मिटरः ३ दिनमै ४९ ट्याक्सी कारबाहीमा




काठमाडौं । ट्याक्सीमा विलिङ मिटर नराख्ने ट्याक्सी चालक कारबाहीमा पर्न थालेका छन् । तीन दिनयता नै ट्राफिक प्रहरीले विलिङ मिटर नराख्ने ४९ ट्याक्सी चालकलाई कारबाही गरेको छ ।

विलिङ मिटर नराख्ने ट्याक्सी चालकलाई नेपाल गुणस्तर तथा नापतौल विभाग, ट्राफिक प्रहरी महाशाखा र काठमाडौं महानगरपालिकाको संयुक्त टोलीले अनुगमन गरी कारबाही गरेको हो ।

अनुगमनका क्रममा विलिङ मिटर नराखेका तथा नविकरण नगरेका ट्याक्सीलाई जरिवाना सहित ३ देखि १ हप्तासम्म यात्रु बोक्न नपाउने कारबाही गरिएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए ।

‘दिनमा ८० देखि १ सय वटा ट्याक्सीमा अनुगमन गरिरहेका छौँ, कारबाहीमा परेकालाई १ हजार जरिवानाका साथ ३ देखि ७ दिन यात्रु बोक्न नपाउने कारबाही गरिएको छ, कारबाहीमा परेका ट्याक्सी गुडाए पनि यात्रु बोक्न पाउने छैनन्,’ महानिर्देशक पुडासैनीले क्लिकमाण्डूसँग भने ।

यसरी ट्याक्सीको अनुगमन जेठ ४ गते शुक्रबारदेखि सुरु भएको हो ।

ट्राफिक प्रहरी महाशाखाका डिएसपी मुकुन्द मरासिनीका अनुसार ४ गते २१ वटा, ५ गते १७ वटा र ६ गते ११ वटा ट्याक्सीलाई नियन्त्रमा लिइएको छ ।

‘हामीले बिलिङ मिटर नराखी सञ्चालनमा रहेका ट्याक्सीलाई नियन्त्रणमा लिदै कारबाही सहित नापतौल विभागमा मिटर जडानका लागि पठाएका छौँ,’ मरासिनीले क्लिकमाण्डूसँग भने ।

बिलिङ मिटर जडान नगरेका ट्याक्सीलाई शुक्रबारदेखि विभाग, महाशाखा र महानगरको टोली संयुक्त रुपमा अनुगमन गरेर कारबाही थालेको हो । लामो समयदेखि विभागले सूचना जारी गरे पनि प्रिन्टर मेसिन जडान नगरेका र विभागमा नविकरणका लागि नआएका ट्याक्सीलाई कारबाहीको दायरामा ल्याउनका लागि अनुगमनसँगै कारबाही सुरु गरिएको विभागका प्राविधिक प्रबिन कुमार लामाले बताए ।

हालसम्म १० हजार ६ सय ट्याक्सी यातायात व्यवस्था विभागमा दर्ता भएका छन् । तीमध्ये ८ हजार १ सय ट्याक्सीले मात्र बिलिङ मिटर लगाएका छन् । अन्य २ हजार ५ सय ट्याक्सीले अझै बिलिङ मिटर नै नराखी सञ्चालन गरिरहेको विभागको भनाइ छ ।


क्लिकमान्डु