विमान कम्पनी भन्छन्ः उडान ढिलो हुँदा यात्रुलाई क्षतिपूर्ति दिन सकिदैन




काठमाडौँ । नेपाल वायु सेवा संञ्चालक संघले समयमै जहाज उडाउन नसके यात्रुलाई क्षतिपूर्ति दिन नसकिने बताएको छ । अन्तराष्ट्रिय उडानमा सशर्त यस्तो ब्यवस्था लागू गर्न सकिने भएपनि आन्तरिक उडानमा यस्तो ब्यवस्था गर्न नसकिने बताएको हो ।

संघका सदस्य तथा सौर्य एयरलाईन्सका प्रबन्ध निर्देशक गोपाल भटट्राईले यस्तो जानकारी दिएका हुन् । सर्वोच्च अदालतले ‘समयमै जहाज नउडाउने एयरलाइन्सले ग्राहकलाई क्षतिपूर्ति दिनुपर्ने गरी कानुन बनाउन’ सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेपछि भटट्राईको यस्तो प्रतिक्रिया आएको हो ।

उनले अन्तर्राष्ट्रिय उडानमा जहाज डिले भएपछि यात्रुलाई क्षतिपुर्ति दिने व्यवस्था भए पनि आन्तरिक उडानमा यस्तो व्यवस्था कही नभएको बताए ।

अदालतले सञ्चारकर्मी घमराज लुइँटेलले ११ वर्षअघि दिएको एक उजुरीमा फैसला गर्दै यात्रुलाई क्षतिपुर्तिको व्यवस्था गर्न निर्देशन जारी गरेको हो । लुइँटेललाई हजार रुपैयाँ क्षतिपूर्ति तिर्न सर्वोच्चले यती एयरलाइन्सलाई आदेश दिएको छ । सर्वोच्चले गत साता मात्रै यस्तो आदेश दिएको हो ।

एकतर्फी ढंगबाट उडान परिवर्तन गर्ने अधिकार एयरलाइन्स कम्पनीलाई नभएको सर्वोच्चले आफ्नो फैसलामा भनेको छ । तर भटट्राई भने यो विषयमा यति छिट्टै निर्णय लिन नहुने जिकिर गरे ।

‘हामी आफ्नो रहरले यात्रुलाई दुःख दिन चाहदैनौं, मौसम तथा विमानस्थलको अवस्थाले यस्तो हुन जाने हो,’ उनले भने ।

मौसम तथा विमानस्थलको समस्याले जहाज डिले हुँदा विमानसेवा प्रदायक कम्पनीले किन क्षतिपुर्ति तिर्नुपर्ने भन्दै उनले उल्टै प्रश्न गरे ।

‘एउटै विमानस्थलमा अन्तर्राष्ट्रिय र आन्तरिक जाहाज उडाउन लगाउने, धावनमार्ग पनि एउटै छ, यस्तो अवस्थामा हामी कसरी समयमा जहाज उडाउन सक्छौ ?’ उनले भने ।

सरकारले विमानस्थलको पूर्वाधार निर्माणमा जोड दिने हो भने जहाज डिलेको समस्या केही कम हुने पनि उनले बताए ।

विमानसेवा प्रदायक कम्पनीलाई पनि जहाज डिले हुँदा नोक्सान हुने गरेको उनको भनाइ छ ।

‘जहाज डिले हुँदा हामीलाई पनि नोक्सान हुन्छ, अनि हाम्रो नोक्सान चाहीँ कसले व्योहोर्ने ?’ उनले प्रश्न गरे ।

नेपालमा अझै पनि जहाज बीमा ससक्त नभएको बताउँदै उनले बीमा कम्पनीले पनि जहाज डिलेको क्षतिपुर्ति दिन नमान्ने गरेको बताए । यस्तो अबस्थामा आफूहरुले दोहोरो घाटा खान नसक्ने उनको भनाइ छ ।

सरकारले यस्तो निएम बनाएमा जाहाज कम्पनी बन्द हुनेसम्मको अवस्था आउन सक्ने उनको भनाइ छ ।


क्लिकमान्डु