नेपालमा हाइड्रोपावर र ट्रान्समिशन लाइन बनाउन चीन तयार



काठमाडौं । चीन नेपालको जलविद्युत तथा प्रसारण लाइन निर्माणमा सहकार्य गर्न निकै उत्सुक रहेको चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले जानकारी दिए ।

उनले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग नेपाल-चीनबीच विद्युत विकासका द्धिपक्षिय सम्भावनाका परियोजनाका विषयमा यस्तो कुरा व्यक्त गरेका हुन् ।

मन्त्री पुनले इनर्जी को-अपरेसनमा नेपाल सकारात्मक रहेको भन्दै त्यसको लागी आवश्यक तयारी गर्न राजदूत पौडेललाई आग्रह गरे ।

चीनले पछिल्लो एक दशकमा १ लाख मेगावाट विद्युत उत्पादन गरेकाले यसबाट नेपालले प्रविधि तथा सीप भित्र्याउन सक्ने राजदूत पौडेलको भनाइ थियो । चीन नेपालमा ३-३ वटा ठूला जलविद्युत तथा प्रसारण लाइन परियोजना निर्माणमा सहयोग गर्न इच्छुक रहेको पनि पौडेलले अवगत गराए ।

जलविद्युत तथा प्रसारण लाइन आयोजनाको विवरण तयार गरेर पठाउन पनि राजदूत पौडेलले आग्रह गरे । भेटमा मन्त्री पुनले आयोजना छनौटको लागि छलफल चलिरहेको बताए ।

यस्तै भेटवार्तामा नेपाल र चीनबीच अन्तरदेशीय प्रसारण लाइन निर्माण, ऊर्जा विकास समन्वय (इनर्जी को–अपरेसन) लगायतका विषयमा छलफल भएको थियो ।

नेपाल र चीनबीच गल्छी-रसुवागढी-केरुङ ४ सय केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने सहमति भइसकेको छ । यसबारे नेपाल विद्युत प्राधिकरणले नेपालतर्फको सम्भाव्यता अध्ययन पनि पूरा गरेको छ ।


पुष्प दुलाल