विद्यासुन्दरले भने- काठमाडौंमा पार्किङस्थल बनाउने ठाउँ खोज्दैछु



काठमाडौं । काठमाडौँ महानगरपालिकाले दिगो, सरल र उपयुक्त पार्किङ गर्नका लागि अन्य विकल्प खोजी गरिरहेको छ ।

कामपाले बिहीबार आयोजना गरेको अन्तक्र्रियामा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँमा ठूलो समस्याका रुपमा रहेको सवारी साधन व्यवस्थापनका लागि नयाँ विकल्प खोजिरहेको जानकारी दिए ।

‘भएका सवारी साधनमध्ये औसतमा १० प्रतिशत समय मात्र सडकमा गुड्छन्, बाँकी समय पार्किङ गरिएका हुनाले पार्किङको समस्या भएको हो,’ मेयर शाक्यले भने ।

कामपाले पार्किङ व्यवस्थापनमा प्रविधिको खोजी जारी राखेको छ । सवारीको अत्यधिक चाप व्यवस्थापन हुन नसक्दा सामान्य जीवन पद्धति र शहरी सुविधाको उपलब्धतामा समस्या भएपछि महानगरले क्षेत्रगत विज्ञ र सरोकार भएका पक्षसँग उपलब्ध स्थानको अधिक उपयोग हुने गरी पार्किङ योजनामा छलफल गरिरहेको छ ।

नयाँ सडक र दरबार मार्गजस्ता अन्य केही व्यस्त ठाउँमा स्मार्ट पार्किङ निर्माण गरिनुपर्ने सहभागीको जोड थियो ।

कामपाका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले तत्काल समाधान मात्रै नभई सधैँका लागि सुविधा उपयोग गर्ने गरी सडक व्यवस्थापनलाई सडक अनुशासनसँग जोडेर काम अघि बढाउनुपर्ने बताए ।

कामपाका सार्वजनिक निजी साझेदारी एकाइ प्रमुख महेश काफ्लेले प्रविधिको प्रयोग गरेर पार्किङ व्यवस्थापन गर्न आवश्यक रहेको औँल्याए ।


पुष्प दुलाल