नेपालमै हुण्डाई गाडीको ‘एसेम्बलिङ प्लाण्ट’ राख्ने तयारीमा छौंः अञ्जन श्रेष्ठको भिडियो अन्तर्वार्ता



काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएनका निवर्तमान अध्यक्ष तथा लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक अन्जन श्रेष्ठले हुण्डाइ गाडीको नेपालमै एसेम्बलिङ गर्ने गृहकार्य बनाएको बताएका छन् ।

क्लिकमाण्डूसँगको भिडियो अन्तर्वार्तामा उनले यस्तो बताएका हुन् । तर, यसको लागि राज्यले के कस्तो नीति लिन्छ र कसरी प्रोत्साहन गर्छ भन्ने कुरा आफूहरुले पर्खेर बसेको उनले बताए । लक्ष्मी ग्रुप हुण्डाइ गाडीको नेपालमा आधिकारिक बिक्रेता हो ।

‘केही साथीहरुले अटोमोवाइलको नेपालमै प्लाण्ट राख्नु भएको छ, उहाँहरुलाई पनि राज्यले त्यति प्रोत्साहन गरे जस्तो लाग्दैैन, राज्यले नेपालमा एसेम्बलिङ प्लाण्ट राख्न साच्चिकै प्रोत्साहन गर्ने नीति अबलम्बन गर्यो भने त्यसको लागि हामी पनि तयार हुनुपर्छ भनेर प्रारम्भिक गृहकार्य थालेका हौं,’ क्लिकमाण्डूसँगको भिडियो अन्तर्वार्तामा उनले भनेका छन् ।

हुण्डाइ गाडीको नेपालमै एसेम्बलिङ प्लाण्ट स्थापना गर्नको लागि कम्पनीसँग कुराकानी भइरहेको उनले जानकारी दिए ।

यस्तै उनले अटोमोमाइल क्षेत्रप्रति राज्यले दोहोरो ब्यवहार गरेको बताएका छन् । राजस्व असुलीको लागि सबैभन्दा पहिला अटो क्षेत्रलाई कस्ने गरिएको र नीतिगत सुविधा दिनुपर्दा अनुत्पादक क्षेत्र भनेर आरोप लगाउने गरिएको उनको भनाइ छ ।

उनले नेपालमा अटोमोबाइलको बजार ठूलो भएकोले सरकारले यसको विकल्पको लागि नेपालमै एसेम्बलिङप्लाण्ट राख्न विशेष सहुलियत पनि दिनुपर्ने बताए ।

एसेम्बलिङ प्लाण्ट स्थापनाको लागि राज्यले नीतिगत सुविधा दिनु पर्ने उनको भनाइ छ । तर, यस्ता एसेम्बलिङ प्लाण्टले सुरुमा नै ठूलो प्रतिफल देलान् भनेर राज्य सोच नराख्ने हो भने तात्कालिक, मध्यकालिन र दीर्घकालिन योजना बनाएर अगाडि बढ्न सक्ने श्रेष्ठले बताए ।

सरकारले नेपालमा एसेम्बलिङ प्लाण्ट राख्न सहुलियत दिने हो भने गाडीका करिब ३० प्रतिशत कम्पोनेन्ट नेपालमै उत्पादन हुने र त्यसले रोजगारी सिर्जनादेखि ब्यापारमा परनिर्भरतासम्म कम हुने उनको भनाइ छ । उनीसँगको विस्तृत कुराकानी भिडियो अन्तर्वार्तामा हेर्न सक्नुहुनेछ ।


क्लिकमान्डु