राजेन्द्र खेतान भन्छन्- यसकारण हुन्छ एभरेष्ट र लक्ष्मी बैंकको मर्जर



काठमाडौं । एभरेष्ट बैंक र लक्ष्मी बैंकबीच मर्जर (एकआपसमा गाभिने) कुरा शुरु भएको २ वर्ष वितिसक्यो । तर, अझै पनि मर्ज हुन्छ वा हुँदैन भन्ने औपचारिकरुपमा टुंगो लागिसकेको छैन ।

दुबैं बैंकमा लगानी गर्नेहरुले यो मेगा मर्जर चाहेका छन् । मर्जरका लागि तयार छन् । सकरात्मक छन् ।

तर किन मर्जर प्रक्रियाले ठोस रुप लिन सकिरहेको छैन ? मर्जरका लागि के कस्ता कामहरु भइरहेका छन् ? र, अब यी दुई बैंकबीच मर्ज हुन्छ कि हुँदैन ? यो रिपोर्ट यसै विषयमा केन्द्रित रहेर तयार पारिएको हो ।

लक्ष्मी बैंकका मूख्य प्रवर्धक राजेन्द्र खेतानका अनुसार विभिन्न अवरोधहरुका कारण यी दुई बैंकबीचको मर्जर प्रक्रिया ढिलो भएको हो । संभवत मर्ज हुन्छ । र, नहुने हो भने पनि चाँडै टुंगो लाग्छ ।

‘देश विकासको चरणमा प्रवेस गरेको छ, सानो पुँजीका बैंकले ठूला आयोजनामा लगानी गर्ने हैसियत राख्दैनन्, त्यसैले हामी चुक्ता पुँजी २० अर्ब पुर्याउनुपर्छ भन्ने मान्यताअनुसार अघि बढ्न खोजिरहेका छौं,’ खेतान ।

लक्ष्मी बैंकलाई एभरेष्ट बैंकसँग मर्ज गर्न आफू अत्यत्नै सकरात्मक रहेको खोतानले सुनाए ।

‘म र एभरेष्टका अध्यक्ष बिके श्रेष्ठजी दुई बैंकलाई मर्ज गर्न अत्यन्तै सकरात्मक छौं, यी दुई बैंकका धेरै कुरा मिल्छन्, जसकारण यो मर्जर हुन्छ नै,’ खेतानले क्लिकमाण्डूसँग भने ।

डीडीए रिपोर्ट छिट्टै, रिपोर्टले जे भन्छ- त्यही अनुसार मर्जर

पछिल्लो समय मर्जरको गति अघि बढेको पनि उनले सुनाए डेढ महिनादेखि दुबैं बैंकले आआफ्नो ड्यु डेलिजेन्स अडिट (डीडीए) गराइरहेका छन् । राष्ट्र बैंकबाट स्वीकृत लिएर पञ्जाब नेशनल बैंकले छानेको भारतीय कम्पनीको नेतृत्वमा नेपाली कम्पनीसमेत सहभागी गराएर डीडीए भइरहेको छ । आगामी केही दिनभित्रै डीडीए रिपोर्ट तयार हुन्छ ।

डीडीए रिपोर्टले जे जस्तो सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) निकाल्छ, त्यसैमा सहमत भएर मर्जरमा जान दुबैं बैंकका लगानीकर्ताबीच सैद्दान्तिक सहमति भइसकेको पनि खेतानले जानकारी दिए ।

‘स्वतन्त्र र व्यावसायिक मूल्यांकनकर्ताले मूल्यांकनको आधारभूत कुराहरु नछुटाइ गरेको मुल्यांकनलाई हामी सहर्ष स्वीकार गर्छौं,’ उनले भने, ‘स्वाप रेसियो निकाल्दा ८०/९० प्रतिशत भयो भने एभरेष्टले स्वीकार्ने र ४०/५० भयो भने पनि लक्ष्मी बैंकले स्वीकार्ने भन्ने मौखिकरुपमा सैद्दान्तिक सहमति भएको छ ।’

जसकारण यो मर्जर हुनेमा आफू विश्वस्त भएको बताउँछन् खेतान ।

एभरेष्ट र लक्ष्मी बैंकका समानता र आवश्यकता

दुई बैंकबीच भएको समानता र आवश्यकताका आधारमा मर्ज गर्न लागिएको हो । खेतानका अनुसार एभरेष्ट बैंक र लक्ष्मी बैंकबीच ३÷४ वटा कुराहरु मिल्छन् ।

पहिलो कुरा एभरेष्टसँग डिल गर्दा बिके श्रेष्ठ र पञ्जाब नेशनल बैंकका प्रतिनिधिसँग डिल गरे पुग्छ । यता लक्ष्मीमा पनि खेतानसँग डिल गरे पुग्छ । यसको अर्थ के हो भने एकले अर्कासँग कुरा गर्दा धेरै मान्छेसँग डिल गरिरहनु पर्दैन । यो दुबै बैंकको समानता हो । जसले मर्जरको गति बढाउन र निष्कर्श निकाल्य धेरै नै सहज बनाउँछ ।

‘बैंकको नाम, अध्यक्ष, सञ्चालक र सीइओ को हुने भन्ने विषयमा हामीबीच कुनै बिमति छैन, दुबैं जना सबै पद छाड्न तयार छौं,’ खेतान भन्छन्, ‘एभरेष्ट र लक्ष्मी मर्ज भएपछि लगानीको तुलनामा नाफाको अनुपात बढ्छ, प्रतिफलको अनुपात पनि बढ्छ, सेयरको मूल्य पनि बढ्छ, संस्था धेरै ठूलो हुन्छ, विविधता पनि आउँछ ।’

खेतानका अनुसार दोस्रो कुरा, दुबैं बैंकको इच्छा व्यावसायिक व्यक्ति र व्यावसायिक कम्पनीले गरेको मूल्यांकन आफूहरुले सोचेको भन्दा अत्याधिक फरक आएन भने सहर्ष एसेप्ट गर्ने भन्ने सैद्दान्तिक सहमति छ । जसअनुसार भ्यालुएटरले तयार पारेको स्वाप रेसियो जस्तो आए पनि मर्जर प्रक्रिया अवरुद्ध हुने छैन ।

तेस्रो कुरा, एभरेष्ट बैंक कोर बैंकिङ मात्रै गरिरहेको छ । उसँग पञ्जान नेशनल बैंकजस्तो पुरानो र ठूलो बैंक पनि लगानीकर्ताको रुपमा जोडिएको छ ।

लक्ष्मी बैंकले कोर बैंकिङ मात्रै गर्दैन । अरु धेरै काम पनि गर्छ । तर, लक्ष्मीसँग विदेशी संयुक्त लगानी छैन । जसकारण लक्ष्मीसँग नभएको एभरेष्टसँग छ, एभरेष्टसँग नभएको लक्ष्मीसँग छ । यी दुई बैंक एकआपसमा गाभिएपछि बन्ने बैंकसँग सबैकुरा हुने भयो । यो समानता होइन । तर आवश्यकता हो ।

मर्जरले यसअघि किन गति लिएन ?

खेतानका अनुसार राष्ट्र बैंकले चुक्ता पुँजी बढाउनुपर्ने नीति लिएपछि दुबैं बैंक पुँजी बढाउनमै केन्द्रित भए । अहिले बोनस सेयर, हकप्रद सेयर जारी गरेर दुबैं बैंकले राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्याइसकेका छन् ।

‘डेढ वर्ष त पुँजी बढाउनमै वित्यो,’ खेतान भन्छन्, ‘जसकारण मर्जरको प्रक्रियाले गति लिन नसकेको हो ।’

त्यतिमात्रै होइन, त्यसबेला दुई बैंकको पुँजीगत संरचना निकै फरक थियो ।

एभरेष्टको चुक्ता पुुँजी कम थियो । लक्ष्मीको धेरै । एभरेष्टसँग रिजर्भ धेरै थियो । लक्ष्मीसँग निकै थोरै मात्रै रिजर्भ थियो । तर, अहिले दुबै बैंकको पुँजी र रिजर्भ करिब उस्तै छ ।

‘जसकारण पनि अहिले कुरा गर्न सजिलो भइरहेको छ, किनभने भ्यालुएसन गर्न पनि सजिलो हुन्छ,’ उनले सुनाए ।

अर्कोकुरा, डीडीएका लागि एभरेष्टले अन्तराष्ट्रिस्तरको अडिट फर्म हुनुपर्छ भन्यो । जसकारण पनि ४/५ महिना बितेको खेतान बताउँछन् ।

‘उहाँहरुको दृष्टिकोण अन्तर्राष्ट्रिय सिस्टमबाट चल्छ, हाम्रो दृष्टिकोण राष्ट्र बैंकको दृष्टिकोणबाट मात्रै चल्छ,’ उनले सुनाए ।

बैंकको नाम, अध्यक्ष, सञ्चालक र सीइओ छाड्न तयार

यी दुई संस्थाबीचको मर्जर हुने अर्को संभावना भनेको दुबैले पदको लोभ नगर्नु हो । खेतानका अनुसार आफू र बिके श्रेष्ठ बैंकको नाम, अध्यक्ष, सीइओ र सञ्चालक सबै छाड्न तयार छन् ।

‘बैंकको नाम, अध्यक्ष, सञ्चालक र सीइओ को हुने भन्ने विषयमा हामीबीच कुनै बिमति छैन, दुबैं जना सबै पद छाड्न तयार छौं,’ उनले भने, ‘नाम जे राख्न पनि सकिन्छ । सीइओ जो पनि हुनसक्छ । र, अध्यक्ष तथा सञ्चालक जो पनि हुनसक्छ । बाहिरबाट प्रोफेसनल व्यक्ति ल्याएर पनि बनाउन सकिन्छ । हामीहरुबीच नमिलेको कुरा भन्ने नै छैन ।’

आम लगानीकर्ता भइसकेपछि अब गर्ने निर्णयले ब्यापार बढाउँछ कि बढाउँदैन र लगानीको अनुपातमा नाफा र प्रतिफलको अनुपात बढी हुन्छ कि हुँदैन भन्ने कुरालाई विशेष ध्यान दिनुपर्ने खेतानको भनाइ छ ।

‘एभरेष्ट र लक्ष्मी मर्ज भएपछि लगानीको तुलनामा नाफाको अनुपात पनि बढ्छ, प्रतिफलको अनुपात पनि बढ्छ, सेयरको मूल्य पनि बढ्छ, संस्था धेरै ठूलो हुन्छ, विविधता पनि आउँछ,’ उनी भन्छन् ।

साउन १ गते फाइनल

आगामी साउन १ गतेसम्ममा एभरेष्ट र लक्ष्मी बैंकको मर्जरको कुरा फाइनल हुने खेतानको भनाइ छ ।

‘हामी आगामी असारसम्ममा मर्जर प्रक्रियालाई टुंग्याउनुपर्छ भनेर लागिरहेका छौं,’ उनले सुनाए, ‘साउन १ गते एभरेष्ट र लक्ष्मी बैंक मर्ज हुन्छन् वा हुँदैनन् भन्ने कुरा सबैलाई थाहा हुन्छ ।’

मर्जरका लागि किन एभरेष्ट नै ?

लक्ष्मी बैंकले कुमारी लगायतका केही बैंकसँग मर्जरको कुरा नगरेको पनि होइन । तर, अरु बैंकसँग कुरा गर्दा अध्यक्ष, सञ्चालक, सीइओ कस्को राख्ने भन्ने विषयबाट मर्जरको डिल शुरु भएपछि अरुसँग मर्जरमा जान आफूहरु पनि इच्छुक नभएको उनको भनाइ छ ।

‘एभरेष्टसँगको डिलमा यस्ता कुरा बिमितिका विषय नै बन्दैनन्, जसकारण लक्ष्मीले बैंक एभरेष्टबाहेक अरुसँग मर्जरमा जान इच्छा नदेखाएको हो,’ खेतानले प्रष्ट्याए ।

५० करोड खर्च घट्छ

एभरेष्ट र लक्ष्मीको मर्जरको अर्को फाइदा भनेको ५० करोड रुपैयाँको हाराहारीमा खर्च घट्नु हो । खेतानका अनुसार यी दुई बैंक गाभिएपछि कम्तिमा पनि १०० जना कर्मचारी कटौति गरिनेछ, अन्य धेरै खर्चहरु घटाइने छ, जसकारण वार्षिक ५० करोड रुपैयाँले खर्च घट्छ । २०÷२५ वटा शाखा स्थानान्तरण हुन्छन् ।

मर्जरपछि कस्ता हुन्छन् वित्तीय सूचक ?

गत चैत मसान्तसम्ममा एभरेष्ट बैंकले १ खर्ब ७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ८८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । लक्ष्मी बैंकले ६३ अर्ब २६ करोड रुपैयाँ निक्षेप संकलन गरी ५८ अर्ब ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । दुबैं बैंक जोड्दा १ खर्ब ७० अर्ब र कर्जा १ खर्ब ४६ अर्ब रुपैयाँ हुन्छ ।

नाफाकै हिसाबले कुरा गर्ने हो भने पनि यो बैंक टप थ्री भित्र पर्छ । चैत मसान्तसम्ममा एभरेष्टले १ अर्ब ८० करोड रुपैयाँ र लक्ष्मीले ८० करोड रुपैयाँ नाफा कमाएका छन् । दुबैंको नाफा जोड्दा २ अर्ब ६० करोड रुपैयाँ हुन्छ । मर्ज भएपछि ५० करोडको हाराहारीमा लागत घट्ने भएकाले यही अवस्थामा पनि ३ अर्ब रुपैयाँभन्दा बढी नाफा हुने खेतान बताउँछन् ।

चैत मसान्तसम्मा एभरेष्टको चुक्ता पुँजी ८ अर्ब १० करोड र रिजर्भ ५ अर्ब ८५ करोड रुपैयाँ छ भने लक्ष्मीको चुक्ता पुँजी ८ अर्ब २२ करोड र रिजर्भ २ अर्ब १६ करोड रुपैयाँ छ । मर्जपछि बन्ने बैंकको चुक्ता पुँजी साढे १२ देखि १३ अर्ब रुपैयाँ पुग्ने खेतान बताउँछन् । जुन अहिलेसम्म कुनैपनि बैंकको छैन ।

चुक्ता पुँजीः मिशन २० अर्ब

‘मर्जपछि करिब १३ अर्ब चुक्ता पुँजी र ५ देखि ६ अर्ब रुपैयाँ रिजर्भ हुन्छ, त्यसलाई पुँजीकरण गर्दै २/३ वर्षभित्र २० अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन सकिन्छ,’ खेतानले भने, ‘देश विकासको चरणमा प्रवेस गरेको छ, सानो पुँजीका बैंकले ठूला आयोजनामा लगानी गर्ने हैसियत राख्दैनन्, त्यसैले हामी चुक्ता पुँजी २० अर्ब पुर्याउनुपर्छ भन्ने मान्यताअनुसार अघि बढ्न खोजिरहेका छौं ।’


पुष्प दुलाल