बेनीमा डिजिटल पर्यटन सूचना केन्द्र स्थापना




म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा डिजिटल सूचना केन्द्रको स्थापना गरिएको छ ।

जिल्लामा भित्रिने आन्तरिक तथा बाह्य पर्यटकलाई जिल्लाका चर्चित तथा ओझेलमा परेका धार्मिक तथा पर्यटकीय स्थल, उत्पादनसहित जिल्लाका महत्वपूर्ण जानकारी प्रदान गर्ने उद्देश्यले सूचना केन्द्रको स्थापना गरिएको हो ।

बेनी नगरपालिका, नेपाल पर्यटन बोर्ड र म्याग्दी उद्योग वाणिज्य संघद्वारा सञ्चालित सूचना केन्द्रले एउटै कोठाबाट समग्र म्याग्दीलाई हेर्न र बुझ्न सकिने पर्यटन सूचना केन्द्रका संयोजक एवं म्याग्दी उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष राजेश शाक्यले बताए ।

उनका अनुसार सूचना केन्द्रलाई स्वदेश तथा विदेशमा रहेका म्याग्दीवासीले पनि सहयोग गरेका छन् । अलपत्र अवस्थामा रहेको भवनलाई मर्मतसम्भारसहित सूचना केन्द्रमा आवश्यक पर्ने सम्पूर्ण साम्रगीको व्यवस्थापन गरिएको छ ।

डिजिटल सूचना केन्द्रको अवधारणालाई मध्यनजर गरी स्थापना गरिएको सूचना केन्द्रमा जिल्लाभरका पुराना र नयाँ पदमार्गको सम्पूर्ण विवरण, छ दशक अगाडि खिचिएका म्याग्दीका तस्वीर, आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिकसहित जिल्लावासीको पहिचान झल्कने तस्वीरसहित स्मार्ट टिभी, निःशुल्क इन्टरनेटसहित विभिन्न सूचना राखिएको छ ।

सूचना केन्द्रले पर्यटकलाई सूचना प्राप्त गर्न सहज हुने तथा पर्यटन व्यवसायीले समेत प्रचारप्रसारमा सहज हुने म्याग्दी भ्रमण वर्षका मूल संयोजक एवं म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताए ।

अध्यक्ष कर्माचार्यका अनुसार आन्तरिक पर्यटकसँगै विदेशीलाई म्याग्दी जिल्लाका पर्यटकीय स्थलको अवलोकन सहज बनाउने सूचनालाई प्राथमिकता दिइने छ ।

स्थापनाकालमा धेरै अपेक्षा पूरा नहुने भए पनि सिङ्गो जिल्लाका महत्वलाई एउटा कोठाभित्र समेट्ने गरी आवश्यक संरचनालाई निरन्तर थप गरिने उनले बताए ।

सूचना केन्द्रले पर्यटकीय क्षेत्रमा पुगेका पर्यटकको सूचना राख्ने र आवश्यकताअनुसार उद्धारमा समेत तत्काल सूचना प्रवाह गर्न सजिलो हुने अपेक्षा गरिएको छ ।

सूचना केन्द्रमा कर्मचारीको समेत व्यवस्था गरिने छ । भित्तामा राखिएका तस्वीर, एलडीबाट देखाइएका भिडियो बाहेक पनि आवश्यकता अनुसार गुगल नक्साबाट समेत पर्यटकलाई रुटको पहिचान गर्न सहजीकरण गरिने छ । सूचना केन्द्रकै कारण पर्यटकको आगमन समेत बढ्न सक्ने सम्भावना रहेको छ ।

जिल्लामा सूचना केन्द्रको अभावका कारण पहिलोपटक घुम्न आएका आन्तरिक पर्यटक समेत नजिककै पर्यटकीयी स्थलमा पुग्न समेत समस्या हुने गरेको थियो, “सूचना केन्द्रले पर्यटन व्यवसायीलाई राहत मिलेको छ, ‘अब जिल्लामा भित्रिने पर्यटकले सहज सूचना पाउनेमा विश्वस्त छौँ” होटल याकका सञ्चालक बाबुराम आर्चायले भने।

उनका अनुसार सूचना केन्द्रलाई पर्यटन व्यवसायीबाट समेत रचनात्मक सहयोग हुने छ । सूचना केन्द्र म्याग्दीको पर्यटनको क्षेत्रमा कोशेढुङ्गा सावित हुने विश्वास गरिएको छ । रासस


क्लिकमान्डु