छुटे यातायात व्यवसायी, सिंहदरबारमा वार्ता हुँदै



काठमाडौं । सरकारले नेपाल यातायात व्यवसायीलाई रिहा गरेको छ । सार्वजनिक यातायातमा सिन्डिकेट लादेको र अत्यावश्यक सार्वजनिक यातायात बन्द गरेको आरोपम सरकारले देशका विभिन्न स्थानबाट यातायात व्यवसायीलाई पक्राउ गरेको थियो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्मचायसहित यातायात व्यवसायीलाई सरकारले रिहा गरेको नेपाल ट्रक यातायात व्यवसायी महासंघका कोषध्यक्ष राजेन्द्र विक्रम बाँनियाले जानकारी दिए ।

अध्यक्ष कर्मचायसहितको टोली सरकारसँग वार्ता गर्नका लागि सिंहदरबार जाँदै गरेको उनले जानकारी दिए ।

नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघले शुक्रबार देशभरीको यातायात बन्द आहृवान गरेको थियो । यातायातमा हड्ताल गरेको आरोपमा महासंघका महासचिव सरोज सिटौला त्यसै दिन पक्राउ परेका थिए भने अध्यक्ष योगेन्द्र कर्माचार्य, उपाध्यक्ष विजय स्वाँर, बसन्त भण्डारी, धर्म धिमाल, किरण खड्का भने शनिबार पक्राउ परेका थिए ।

यसअघि आइतबार बिहान प्रधानमन्त्री कार्यालयबाट आन्दोलनरत यातायात ब्यवसायी समितिका सहसंयोजक एबम् नेपाल ट्रक यातायात ब्यवसायी महासंघका अध्यक्ष अर्जुन रानाभाटलाई टेलिफोन गरी सिन्डिकेटको विरोध गर्ने र यातायात सुचारु गर्ने आशयको विज्ञप्ति निकाल्न भनिएको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको निर्देशन अनुसार दिउसै विज्ञप्ति जारी गरिए पनि पक्राउ परेको समितिका पदाधिकारी छोड्न ढिलाइ भएको थियो । पछि प्रधानमन्त्री कार्यालयकै संयोजनमा समितिका पदाधिकारीलाई रिहाइ गरी सरकारले वार्ता थालेको हो ।


क्लिकमान्डु