अमेरिकी डलरको मूल्य १५ महिनायताकै महंगो



काठमाडौं । अमेरिकी डलरको मूल्य वितेका १४ महिना यताकै महंगो भएको छ । पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले लिएको आर्थिक नीतिका कारण अमेरिकी अर्थतन्त्र बलियो भएपछि डलरको भाउ महंगो भएको हो ।

अहिले १ डलर किन्नका लागि नेपाली १ सय ६ रुपैयाँ ९६ पैसा खर्च गर्नुपर्ने भएको छ । लगातार एक सातादेखि डलरको मूल्य यही छ । त्यसअघि अझ बढी महंगो थियो । अघिल्लो साता १ डलर किन्नका लागि १ सय ७ रुपैयाँ ३५ पैसासम्म खर्च गर्नु परेको थियो । डलरको यो मूल्य २०७३ माघ महिनापछिको सबैभन्दा महंगो हो । त्यसबेला डरको मूल्य १ सय ७ रुपैयाँभन्दा माथि थियो ।

ट्रम्पले ३५ प्रतिशत लिँदै आएको कर्पोरेट इनकम ट्याक्सलाई घटाएर २१ प्रतिशतमा झारेपछि लगानीकर्ताहरु अमेरिकामा लगानी गर्न थप आकर्षित भएका छन् । जसकारण अमेरिकी अर्थतन्त्र बलियो हुनगई डलरको भाउ महंगिएको राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन् ।

उता मोदीको आर्थिक नीतिले भारतीय अर्थतन्त्रलाई बलियो बनाउन नसकेपछि डलरसँग भारु निकै कमजोर भएको छ । नेपालको दुईतिहाइ ब्यापार भारतसँग हुने भएकाले डलरसँग भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर भएको हो ।
भारतसँग नेपालको स्थिर बिनिमय दर छ । जसअनुसार १ सय भारु किन्न नेपालले १६० रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ ।

नेपालको अर्थतन्त्र आयातमा आधारित भएकाले डलको भाउ बढ्दा नेपाली अर्थतन्त्रलाई नाफाभन्दा बढी घाटा हुने थापा बताउँछन् ।

‘डलरको भाउ बढ्दा आयात महंगो हुन्छ, सरकारले डलरमा तिर्नुपर्ने ऋणको दायित्व बढ्दा बजेट घाटा बढ्छ,’ थापाले क्लिकमाण्डूसँग भने, ‘१ रुपैयाँले डलको भाउ बढ्दा पनि नेपाली अर्थतन्त्रलाई अर्बौं रुपैयाँ बराबरको नोक्सानी हुन्छ ।’

यद्यपि डलर बढ्दा नेपाली रुपैयाँमा प्राप्त गर्ने रेमिट्यान्स बढ्छ, पर्यटनबाट हुने आम्दानी बढ्छ र निर्यातबाट हुने आम्दानी बढ्छ । तर, आयात र डलरमा तिर्नुपर्ने विदेशी ऋणको तुलनामा यसमा मात्रा निकै कम भएकाले डलर बढ्दा नेपाललाई नाफाभन्दा बढी घाटा हुने उनको भनाइ छ ।


पुष्प दुलाल