नेपालमा हल्ला मात्रै, भारतमा ३ हजार मेगावाटका सौर्य र वायू ऊर्जाको ठेक्का



काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको २५ मेगावाट क्षमताको सौर्य परियोजनाको ४ वर्षपछि शिलान्याश भएको सन्दर्भमा भारतको तामिलनाडु राज्यको विद्युत् नियमन प्राधिकरणले एकैपटक ३ हजार मेगावाट क्षमताको सौर्य परियोजनाको ठेक्का गरेको छ ।

सौर्य परियोजना मात्रै नभई त्यसमा संयुक्त रुपमा वायु ऊर्जा प्रणाली समेत जडान गरिनेछ ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले हावाबाट विद्युत् उत्पादन गर्ने विषयलाई भाषणमा मात्रै सिमित गरिरहेको बेला भारतको तामिलनाडुमा एकै पटक ३ हजार मेगावाट क्षमताको संयुक्त ऊर्जा प्रणालीको ठेक्का प्रक्रिया सुरु गरेर दक्षिण एसियालाई नै चकित तुल्याइदिएको छ ।

पछिल्लो दिनमा संसार भर नै सौर्य प्रणाली र वायु ऊर्जा प्रणाली जडानमा एक प्रकारको प्रतिस्पर्धा नै देखिएको छ ।

तामिलनाडु विद्युत् नियमन प्राधिकरणले ३ रुपैयाँ भारतीय मुद्रामा सौर्य परियोजनाको विद्युत् खरिद गर्ने छ भने हावबाट उत्पादन हुने विद्युत् २ रुपैयाँ ६५ पैसामा खरिद गर्नेछ ।

कूल ५०० मेगावाट क्षमताका ३ परियोजना सौर्य प्रणालीको हुनेछ भने बाँकी रहेका परियोजना भने सौर्य र वायु ऊर्जा प्रणालीका रहनेछन् ।

तामिलनाडुमा मात्रै ७ हजार ८५८ मेगावाट क्षमता बराबरको वायु ऊर्जा प्रणाली जडान गर्न सकिनेछ । तामिलनाडु सरकारले कम्तीमा पनि १ हजार मेगावाट क्षमताको परियोजना एकाध वर्ष भित्रै सम्पन्न गर्ने लक्ष्य समेत राखेको छ ।

तामिलनाडु सरकारलाई ४ हजार ५५३ मेगावाट क्षमता बराबरको ऊर्जा तत्काल आवश्यकता परेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।


पुष्प दुलाल