जुकाको औषधि र सादा जीबनजल उत्पादन गर्दै नेपाल औषधि



काठमाडौं । पूर्णसरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडले वैशाख महिनामा थप २ वटा औषधि उत्पादन गर्ने भएको छ । कम्पनीले वैशाखको तेस्रो साता सादा जीवनजल र अन्तिम साता जुकाको औषधि (अल्वेनडाजोल) उत्पादन गर्ने भएको हो ।

२०६६ सालदेखि बन्द रहेको कम्पनीले गत वैशाखदेखि जीवनजल उत्पादन गर्दै पुनःसंचालनमा आएको थियो । हाल कम्पनीले ओरेन्ज फ्लेवरको जीवनजल र सिटामोल उत्पादन गर्दै आइरहेको छ ।

वैशाख महिना भित्रमा २ वटा औषधि उत्पादन गर्ने तयारी गरिरहेको कम्पनीका महाप्रबन्धक रोमश कुसुम सुवेदीले जानकारी दिए ।

‘वैशाखको तेश्रो सातादेखि सादा जीवनजल र अन्तिम सातादेखि जुकाको औषधि उत्पादन गर्दैछौं,’ महाप्रबन्धक सुवेदीले क्लिकमाण्डूसँग भने ।

यस अघि नै कम्पनीबाट ओरेन्ज फ्लेवरको जीवनजल उत्पादन भइरहेको छ ।

सादा जीवनजल उत्पादनका लागि कुनै समस्या नरहेको उनले जानकारी दिए ।

कम्पनीले उत्पादन गर्ने जीवनजलको मूल्य ९ रुपैयाँ प्रतिप्याकेट हुनेछ । यस अघि उत्पादन गरिएको ओरेन्ज फ्लेवरको जीवनजलको मूल्य पनि ९ रुपैयाँ प्रतिप्याकेट छ ।

उनका अनुसार जुकाको औषधि उत्पादन गर्नका लागि पर्याप्त मात्रमा कच्चा पदार्थ आइसकेको छैन । कच्चा पदार्थदेखि आवश्यक सम्पूर्ण बस्तुको उपलब्धता भएकाले सादा जीवनजल पहिला उत्पादन गर्न लागिएको उनको भनाई छ ।

जुकाको औषधि उत्पादनका लागि कम्पनीले आवश्यक मेसिनहरुको जोहो गरिसकेको छ । कच्चा पदार्थको उपलब्धतासँगै जुकको औषधि उत्पादन शुरु हुनेछ ।

‘जुकाको औषधिका लागि आवश्यक कच्चा पदार्थ ल्याउने काम तीब्रगतिमा भइरकेको छ, वैशाखको अन्तिम साताबाट उत्पादन शुरु गर्ने छौं,’ उनले भने ।

उत्पादन शुरु नभएकाले अहिले नै जुकाको औषधिको मूल्य यति नै हो भनेर ठ्याक्कै भन्न सकिने अवस्थामा नभएको उनले भनाई छ । तर पनि कम्पनीले उत्पादन गर्ने जुकाको औषधिको मूल्य ९ रुपैयाँभन्दा धेरै नपर्ने उनको दाबी छ ।

कम्पनीले पहिलो चरणमा जुकाको औषधि १ लाख चक्की र १२ लाख प्याकेट सादा जीबनजल उत्पादन गर्ने तयारी गरेको हो ।


क्लिकमान्डु