साताको सेयर बजारः कारोबार संख्या र रकम दुबै बढ्यो




काठमाडौं । यो साता सेयर बजारमा कारोबार संख्या र रकम दुबै बढेको छ । बैशाख ७ गतेदेखि १३ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचिकृत १८२ कम्पनीहरुको कारोबार भएको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार यी कम्पनीहरुको ४७ हजार ७१ कारोबारबाट ४ अर्ब ६९ करोड ६१ लाख ७९ हजार रुपैयाँ बराबरका १ करोड १ लाख ८५ हजार कित्ता सेयरहरु खरिद बिक्री भएका छन् ।

कारोबार रकम गत साताको भन्दा १४.८६ प्रतिशत बढेको हो । गत साता १ सय ८१ कम्पनीहरुको सेयर कारोबार भएको थियो । जस अनुसार ४४ हजार १५० कारोबारबाट ४ अर्ब ८ करोड ८७ लाख ५७ हजार रुपैयाँ बराबरका ८८ लाख ५९ हजार चार सय १० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

कारोबार संख्या र रकम बृद्धि भएपनि पुँजी बजार मापक नेप्से परिसुचक भने घटेको छ । यो साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ८१.२७ अंकले घटेर अन्तिम दिन १३५७.२२ अंकमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १७.०५ अंकले घटेर २८७.०६ अंकमा आईपुगेको छ ।

यस साता कारोबार रकम (१९ करोड १५ लाख १० हजार रुपैयाँ) को आधारमा नेपाल बैंक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (५ लाख २४ हजार कित्ता) को आधारमा पनि नेपाल बैंक अग्रस्थानमा रहेको छ । कारोबार संख्या (१५०५ वटा) को आधारमा प्रिमियर इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेको छ ।


क्लिकमान्डु