टीपीएस नविकरण नहुने, ९ हजार नेपालीलाई अमेरिकाले देश निकाला गर्न सक्ने




अमेरिका । अमेरिकाले भुकम्प प्रभावितको नाममा आफ्नो देशमा रहेका नेपालीहरुलाई बस्न र काम गर्न दिएको अस्थायी बसोबास र काम गर्न पाउने सुविधा (टेम्प्रोररी प्रोटेक्स स्टाट्स (टीपीएस)) अर्को वर्षदेखि नविकरण नगर्ने भएको छ ।

यो निर्णयसंगै अमेरिकामा यो सुविधामा रहेका नेपालीले अबको एक वर्षभित्र अर्थात आगामी जुन २४ सम्ममा नेपाल फर्कन वा अमेरिका बस्न पाउने अरु कुनै आधार तय गर्नुपर्ने छ । यदि यस्तो नभए उनीहरुलाई देश निकाला गरिने छ ।

यहाँस्थित आप्रवासी मामिला हेर्ने निकाय होमल्याण्ड सेक्यूरिटीले विहीबार जारी गरेको विज्ञप्तीमा अबको एक वर्ष यो स्टाटसमा रहेका नेपालीहरुलाई तयारीको लागि समय दिएको र यो समयभित्रै नेपालीहरुले आफ्नो व्यवस्थापन गरिसक्नुपर्ने उल्लेख गरेको छ ।

नेपालमा विनासकारी महाभुकम्प गएको ३ वर्ष पुगेकै समयमा अमेरिकाको यस्तो निर्णय आएको हो । विज्ञप्तिमा नेपालले भुकम्पपछिको पूनर्निमाण कार्य अगाडि बढाईरहेको र अब नेपालमा कुनै खतरा पनि नरहेको भन्दै यो प्रक्रियामा अरु समय थप गर्नुपर्ने कुनै कारण नरहेको उल्लेख गरेको छ ।

यस अगाडि मंगलबार नै यहाँस्थित चर्चित सञ्चार संस्था वासिंटन पोष्टले आफ्नो अनलाईन संस्करणमा नेपाललाई दिएको टिपीएस सुविधाको विषयमा एक समाचार प्रकाशित गर्दै टम्प प्रशासन टिपीएस सुविधा नविकरण गर्ने पक्षमा नरहेको जनाएको थियो ।

यसको साथै अबको एक वर्षभित्रै यो सुविधामा रहेका करिब ९ हजार नेपालीहरुले अरु स्ट्याटसमा नगए डिपोर्टेशन (देश निकाला) मा पर्ने संभावना उच्च रहेको छ । आप्रावासी मामिला सम्वन्धि निर्णय गर्र्ने होमल्याण्ड सेक्यूरिटीले यस अगाडि नै नेपालीलाई दिएको यो सुविधा अन्त्य गर्ने संकेत गरेको थियो ।

टीपीएस नविकरण नहुने भएपछि यो सुविधामा रहेका नेपालीलाई अब करिब १५ महिनाभित्र अरु कुनै सुविधाको लागि समय रहेको छ । सरकारले एक बर्षको समयसीमा दिएर स्वेच्छाले नेपालीलाई देश छोड्न भन्ने र त्यसो नगरे पक्रिएर देश निकाला गर्न सक्ने यहाँका कानून व्यवसायीहरुले अनुमान गरेका छन् ।

टिपीएस आफैंमा अस्थाई सुविधा हो । यो सुविधा लिएकाहरुले समेरिकामा काम गर्न र वस्न पाउँछन् । तर, नागरिकता पाउँदैनन् । सन् १९९० देखि अमेरिकाले विदेशीलाई उनीहरुको देशमा दैविक प्रकोप वा हिंसात्मक द्धन्द्ध भएमा आफ्नो देशमा भएका उक्त देशका नागरिकलाई अस्थायी बसोबास सुविधा दिने (टीपीएस) को व्यवस्था गरेको थियो । यस्तो सुविधा लिँदालिँदै ग्रिन कार्डको निवेदन दिन सकिन्छ । सोही अनुसार करिब ६ हजार नेपालीले तीन वर्षमा ग्रिन कार्ड लिएको जनाईएको छ । तर, बाँकी ९ हजार नेपालीलाई भने यो सुविधा नविकरण नभए समस्या हुने भएको छ ।

करिब ३ वर्ष अगाडि नेपालीलाई दिएको टिपिएसको समय आउने जुन महिनामा सकिँदैछ । नयाँ विज्ञप्तीअनुसार अब संक्रमणकालिन रुपमा एक वर्षको लागि टिपिएस नविवरण हुने छ र यो संगै अरु प्रक्रिया पनि अगाडि बढाउनुपर्ने भएको छ ।

एक प्रतिवेदन अनुसार अमेरिकाको न्यूयोर्कमा रहेका धेरै नेपालीहरु यो निर्णयले प्रभावित हुने छन् । टिपीएस सुविधा लिएका धेरै नेपालीहरु न्यूयोर्कमा बस्दै आएका छन् । यस अगाडि टिपीएस नविकरणको लागि यहाँ रहेका नेपाली संघ संस्थाले पहल गरेपनि यो प्रभावकारी हुन सकेन ।


क्लिकमान्डु