अर्थमन्त्रीको आर्थिक बृद्धि लक्ष्यलाई सिविएसले पनि पत्याएन, भन्यो ६ प्रतिशत त पुग्दैन




काठमाडौं । केन्द्रीत तथ्यांक विभाग (सिविएस) ले चालु आर्थिक बर्षको आर्थिक बृद्धिदर ५.८९ प्रतिशत हुने बताएको छ । विभागले बैशाख १२ गते पत्रकार सम्मेलन गर्दै चालु आर्थिक बर्षको आर्थिक बृद्धिदर त्यतिमा सिमित रहने अनुमान सार्बजनिक गरेको हो ।

यो बृद्धिदर अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक बर्षको बजेटको मध्यावधी समीक्षा मार्फत गरेको प्रक्षेपणभन्दा पनि कम हो । बजेट ल्याउने बेलामा सरकारले चालु आर्थिक बर्षमा ७ प्रतिशतको आर्थिक बृद्धिदर हासिल हुन्छ भनेको थियो । तर मध्यावधी समीक्षा मार्फत सो लक्ष्य घटाएर ६ प्रतिशत कायम गरिएको थियो ।

अर्थमन्त्रालयले प्रक्षेपण गर्ने आर्थिक बृद्धिको लक्ष्य नपत्याउनेमा अहिले आएर सरकारी निकाय सिविएस पनि थपिएको छ । यसअघि नै विश्व बैंकले चालु आर्थिक बर्षको आर्थिक बृद्धिदर ४.६ प्रतिशत हुने भनेको थियो । यस्तै एशियाली विकास बैंकले चालु आर्थिक बर्षको आर्थिक बृद्धिदर ४.९ प्रतिशत हुने भनेको थियो ।

सिविएस राष्ट्रिय योजना आयोग अन्तरगतको निकाय हो । नेपालमा आधिकारिक तथ्यांक संकलन, प्रक्षेपण र विश्लेषण गर्ने अधिकार सिविएसलाई मात्रै छ । अन्य निकाय, संस्था वा संघहरुले तथ्यांक संकलन गर्नुपरेमा सिविएसबाट अनुमति लिएर गर्नुपर्छ ।

सिविएसले नेपालको अर्थतन्त्रको आकार ३० खर्ब रुपैयाँ बराबरको भएको सार्बजनिक गरेको छ । कूल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २८ प्रतिशत, उद्योगको १४ प्रतिशत र सेवा क्षेत्रको ५८ प्रतिशत हुने सिविएसको भनाइ छ ।


क्लिकमान्डु