हट्यो कर कार्यालय धाउने झन्झट, अब घरमा बसेर कर तिर्न सकिने



काठमाडौं । अब घरमा बसेर नै सरकारी कर तिर्न सकिने भएको छ ।

सरकारले आजदेखि विद्युतिय प्रणाली मार्फत कर तिर्न सक्ने व्यवस्था मिलाएको छ ।

तत्कालको लागि १ लाख रुपैयाँसम्मको कर र गैरकर राजस्व मात्र विद्युतिय प्रणाली मार्फत तिर्न सकिन्छ ।

सुरुवातमा काठमाडौंबाट यो सेवा सुरु भएपनि देशभर यसको विस्तार गर्ने तयारी अर्थमन्त्रालयले गरेको छ ।

अर्थमन्त्री भएपछि डा युवराज खतिवडाले पहिलो निर्णय नै बैशाख १ देखि सरकारले लिने रकम विद्युतिय भुक्तानीबाट लिन सकिने व्यवस्था मिलाएका थिए ।

अर्थमन्त्री डा खतिवडाले करदाता सेवा कार्यालय ठमेल अन्तर्गतको  एक करदाताको कर विद्युतिय प्रणालीबाट तिर्ने काम सुरुवात गरेका छन् ।

अर्थमन्त्री खतिवडाले प्रविधिले सहजता ल्याउने र यसले करदातालाई सजिलो हुने भन्दै यसको रकमको सिमा र दायरा तफ विस्तार गर्ने बताए ।

‘प्रशासनमा मानिस नदेखिएपनि काम हुनुपर्छ,विकास देखिनुपर्छ’,उनले भने,‘ठूलो लगानी गर्ने कम्पनी आउदा व्यक्ति नदिएपनि कागज मिलेमा काम हुनुपर्छ । प्रशासन अधिकारीको काम व्यक्ति हेर्ने होइन।’

अर्थमन्त्री खतिवडाले करतिर्नको लागि अन्य नीतिगत सुधार गर्ने बताउदै पेमेन्ट प्रणालीका अन्य विषयमा पनि छलफल चलिरहेको जानकारी दिए ।

महालेखा नियन्त्रक कार्यालयले यसको लागि छुट्टै पोर्टल बनाएको छ । नेपाल क्लियरिङ हाउस मार्फत गरिएको सिस्टमले करदाताले घरमा बसेर नै कर तिर्न सक्छन् ।

अर्थसचिव शिशिर ढुंगानाले यो प्रणालीले व्यवसायको लागत घटाउने बताए ।

‘व्यवसायिक लागत यो प्रणालीले घटाउने छ,करदाताले आफ्नो सुविधा भएको समयमा कर तिर्न सक्छन्।’,उनले भने ।

नेपालको कर प्रणालीमा यो निकै ठूलो सुधार भएको भनाई उनको छ ।


क्लिकमान्डु