नेपाल टेलिकमद्वारा अस्पताल र विद्यालयलाई सहयोग



काठमाडौं । नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न अस्पताललाई कम्बल उपलब्ध गराउनुका साथै केही सामुदायिक विद्यालयमा आइसिटि सेन्टर स्थापना गरिदिएको छ ।

कम्पनीले आफ्ना ६ वटा क्षेत्रीय निर्देशनालय अन्तर्गतका कोशी अञ्चल अस्पताल विराटनगर, नारायणी अञ्चल अस्पताल वीरगञ्ज, भक्तपुर क्यान्सर अस्पताल, भेरी अञ्चल अस्पताल नेपालगञ्ज र महाकाली अञ्चल अस्पताल महेन्द्रनगरलाई २५/२५ थान कम्बल उपलब्ध गराएको जानकारी दिएको छ ।

लुम्बिनी अञ्चल अस्पताल बुटवलमा पनि छिट्टै कम्बल वितरण कार्यक्रम रहेको कम्पनीले जनाएको छ ।

यस्तै कम्पनीले उदयपुर जिल्लाको उदयपुर गढी गाउँपालिकाको वडा नम्बर ६ का अग्निपीडित स्थानीय वासिन्दालाई पनि हालै २५ थान कम्बल वितरण गरेको छ ।
नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले हालै एक कार्यक्रमकाबीच भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा.ऋषिकेशनारायण श्रेष्ठलाई कम्पनीको तर्फबाट २५ थान कम्बल हस्तान्तरण गरेका हुन् । ती कम्बल अस्पतालका विरामीहरुका लागि उपयोग गरिने छ ।

त्यसैगरी भूकम्पबाट अति प्रभावित जिल्लाहरुलगायत अन्य ६ वटा जिल्लाका एक एक वटा सामुदायिक विद्यालयमा आइसिटि सेन्टर स्थापना गरिदिने कार्यक्रम अनुसार भूकम्प प्रभावित ११ वटा जिल्लामा कार्य सम्पन्न भइसकेको कम्पनीले जानकारी दिएको छ । लमजुङ, डडेलधुरा, उदयपुर, जुम्ला र रुकुम जिल्लाका एक एक सामुदायिक विद्यालयमा निकट भविष्यमा नै आइसिटि सेन्टर स्थापनाका लागि तयारी अन्तिम चरण पुगेको कम्पनीले जानकारी दिएको छ ।

यसैबीच राजभण्डारीले शान्ति निकेतन माध्यमिक विद्यालय भक्तपुरमा कम्पनीको सहयोगमा स्थापना गरिएको आईसीटी सेन्टरको हालै शुभारम्भ गरेकी छिन् । सो सेन्टरका लागि कम्पनीले ५ थान कम्प्युटर, ५ थान वेब क्याम, ५ थान माइक्रो फोनसहितको हेडसेट र १ थान थ्री इन वान प्रिन्टर उपलब्ध गराएको छ ।

सो प्रयोजनका लागि १ लाइन वाइम्याक्स डाटा कनेक्सन, वाइफाई राउटर र ओडियू सेट समेत उपलब्ध गराउनुको साथै इन्टरनेट चलाउनका लागि दुई वर्षसम्म मासिक रुपमा ३० जीबी डाटा निःशुल्क उपलब्ध गराएको छ ।


क्लिकमान्डु