एनएमबि माइक्रोफाइनान्सको सिईओमा फनीलाल चौधरी नियुक्त




काठमाडौं । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा फनीलाल चौधरी नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको बैठकले चौधरीलाई आइतबारदेखि लागू हुने गरी सिईओमा नियुक्त गरेको हो ।

नवनियुक्त सिईओ चौधरीले नेपाल राष्ट्र बैंकबाट बैंकिङ यात्रा प्रारम्भगरी पूर्वाञ्चल ग्रामीण बिकास बैंक लिमिटेड (हालको नेपाल ग्रामीण बिकास बैंक), नेरुडे लघुवित्त बिकास बैंक हुँदै मेरो माइक्रोफाइनान्स वित्तीय संस्थामा प्रमुख कार्यकारी अधिकृत भई काम गरेको झण्डै २६ वर्षको अनुभव छ ।

यसका साथै, प्लान नेपाल, यूएनडीपी, केयर नेपाल लगायतका विभिन्न अन्तराष्ट्रिय गैह्रसरकारी संस्थाहरुमा कार्य गरेका चौधरी पछिल्लो समयमा उन्नति वित्तीय पहुँच परियोजनामा कार्यरत थिए । निजले वित्तीय संस्थाहरुमा कार्यरत कर्मचारी, सरोकारवालाहरुका साथै वित्तीय संस्थाका सदस्यहरुलाई विभिन्न किसिमका तालिमहरु प्रदान गर्दै आएको र राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा तालिम, गोष्ठी तथा सेमिनारहरुमा पनि भागलिई अनुभव प्राप्त गरेका छन् ।

यस अघि कम्पनीको सिईओको कार्यभार तिर्थरत्न कोनाजोले सम्हालेका थिए । कोनाजोले उक्त पदबाट राजिनामा दिएपछि मात्र संस्थाले कम्पनीको नयाँ सिईओको रुपमा चौधरीलाई नियुक्त गरेको हो ।

२०७४ चैत्र मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले २ अर्ब १९ करोड रुपैयाँ कर्जा प्रवाहगरी ६१ करोड ५५ लाख रुपैयाँ वचत संकलन गरेको छ ।


क्लिकमान्डु