ब्रिटिस गोर्खालाई क्षतिपूर्ति दिलाउन पहल गर्छुः प्रचण्ड




काठमाडौं । माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ब्रिटिस गोर्खामा कार्यरत नेपालीको समस्या समाधान गर्न आफू तयार रहेको बताएका छन् ।

गोर्खा सत्याग्रह संघर्ष समिति सहितका आन्दोलनरत पक्षका प्रतिनिधिसँगको भेटमा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । आफू प्रधानमन्त्री भएको बेलामा समस्या समाधान गर्न सबैभन्दा बढी तत्परता र क्रियाशीलता देखाएको भन्दै उनले अहिले अनुकुल अबस्था रहेकोले समस्या समाधानको लागि आफूले सक्दो पहल गर्ने आश्वसन पनि दिए ।

‘म प्रधानमन्त्री भएको बेलामा समस्या समाधानको लागि सबैभन्दा बढी प्रयास गरेको थिएँ, अहिले अनुकल समय छ, तपाइहरुले प्रधानमन्त्रीलाई भेटिसक्नु भएछ, म प्रधानमन्त्रीसँग फेरि पनि ब्यक्तिगत रुपमा समस्या समाधानमा थप सहयोग गर्न आग्रह गर्छु, परराष्ट्रमन्त्रीसँग पनि यस बिषयमा कुरा गर्छु,’ प्रतिनिधिमण्डलसँग पार्टी कार्यालय पेरिस डाडामा भएको भेटमा अध्यक्ष प्रचण्डले भने ।

ब्रिटिस गोर्खामा कार्यरत नेपालीलाई बेलायती सरकारले विभेद गरेको थियो । सन् १९७५ देखि सन् १९९६ सम्म अवकाश पाएका ब्रिटिस गोर्खालाई बेलायती सरकारले आफ्ना नागरिकको तुलनामा असाध्यै कम सुविधा दिएको थियो भने सन् १९९७ देखि सन् २००६ सम्म अबकाश पाएका व्रिटिस गोर्खामाथि पनि विभेद भएको छ । त्यसपछि अबकाश पाउने व्रिटिस गोर्खाले भने बेलायती नागरिक सरह सुविधा पाउदै आएका छन् ।

यस्तो विभेद भएपछि ब्रिटिस गोर्खामा कार्यरत नेपाली आन्दोलित बनेका थिए । ब्रिटिस गोर्खाको तर्फबाट ज्ञानराज राईले सन् २०१३ मा आमरण अनसन बसेपछि बेलायत सरकार ब्रिटिस गोर्खालाई पनि बेलायती नागरिक सरह सुविधा दिन तयार भएको थियो ।

तर, यसअघि नै अवकाश भएका ब्रिटिस गोर्खालाई पनि विभेदको क्षतिपूर्ति पाउनु पर्ने माग ब्रिटिस गोर्खाले गरिरहेका छन् । ब्रिटिस गोर्खाको तर्फबाट यस्तो आवाज उठेपछि बेलायत सरकारले समिति नै गठन गरेर नेपाल सरकारसँग वार्ता गर्न तयार रहेको जानकारी नेपालको परराष्ट्र मन्त्रालयलाई गराएको छ । तर नेपाल सरकारले वार्ताको लागि समिति गठन गरिसकेको भने छैन ।

बेलायत सरकार समस्या समाधानको लागि तत्पर भएपछि नेपाल सरकारको तर्फबाट पनि सोही प्रकारको सक्रियताको अपेक्षा गर्दै ब्रिटिस गोर्खा सत्याग्रह संघर्ष समितिको पहलमा सरोकारवालाहरुको प्रतिनिधिमण्डलले प्रधानमन्त्री सहितका सरकारका उच्च अधिकार र प्रमुख राजनीतिक दलका शिर्ष नेतृत्वसँग भेट गरिरहेको छ । यसैको सन्दर्भमा माओबादी केन्द्रका अध्यक्ष प्रचण्डसँग सोमवार भेट भएको हो ।

ब्रिटिस गोर्खामाथि भएको विदेशको क्षतिपूर्ति रकम प्राप्त भएमा ब्रिटिस गोर्खाबाट अबकाश पाएका नेपालीले साढे ९ खर्ब रुपैयाँभन्दा बढी रकम पाउने गोर्खा सत्याग्रह संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले बताए ।


क्लिकमान्डु