स्थानीय निकायले स्रोत जुटाउन म्युनिसिपल बण्ड जारी गर्न सक्ने : धितोपत्र बोर्ड अध्यक्ष कार्की
काठमाडौं । धितोपत्र बोर्डले वीरगंज,कलैया र हेटौडामा पूँजीबजार जनचेतना सम्बन्धि कार्यक्रम गरेको छ ।
बोर्ड र वीरगंज उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा यही बैशाख ४ गते कार्यक्रम भएको थियो ।
कार्यक्रममा वीरगंज महानगरपालिका मेयर विजय सरावगीले हालैका दिनमा वोर्डले गरेको कार्यहरुको सराहना गर्दै पुँजीबजार अर्थतन्त्रको एक महत्वपूर्ण बजार रहेकोले यस सम्बन्धमा सबैले ज्ञान लिन जरुरी रहेको विचार व्यक्त गरे ।
बोर्डका अध्यक्ष डा रेवत कार्कीले बोर्डले नेपालका ७७ वटै जिल्लाबाट सार्वजनिक निष्काशनमा आवेदन दिन सक्ने व्यवस्था लगायतका नीतिगत सुधारहरु गरिरहेको जानकारी गराए ।
उनले देश संघीय संरचना गएको र स्थानीय रुपमा विकासका लागि आवश्यक रकम जुटाउन म्युनिसिपल बण्डमार्फत पुँजी संकलन गर्न पनि सकिने भएकोले सो तर्फ पनि सम्बन्धित पक्षहरुको ध्यान जान जरुरी रहेको बताए ।
वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले बोर्डसँगको सहकार्यमा यस्तो महत्वपूर्ण कार्यक्रम गर्न पाउँदा आफूहरु लाभान्वित भएको बताउँदै आगामी दिनमा यस्ता कार्यक्रम नियमित रुपमा गर्नुपर्ने धारण राखे ।
उक्त कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका पदाधिकारी, सरकारी निकायका पदाधिकारी, विभिन्न व्यवसायी, लगानीकर्ता, पत्रकार, विद्यार्थी तथा सर्वसाधारणहरु समेतको उल्लेख्य सहभागिता रहेको थियो ।
यसै गरी बोर्ड र मकवानपुर उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा बैशाख ६ गते हेटौडा लगानीकर्ता जनचेतना अभिवृद्धि तथा अन्र्तकृया कार्यक्रम सम्पन्न भएको छ । वोर्डले बैशाख ३ मा कलैया उद्योग वाणिज्य संघ वाराको संयोजनमा स्थानिय रामराजा कलेजमा समेत यस्तै कार्यक्रम संचालन गरेको थियो ।