इक्यानको निर्वाचन शनिबार, अध्यक्षको प्रतिष्पर्धामा बस्नेत र पाण्डे



काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को बैशाख ८ गते शनिबार हुने निर्वाचनका लागि दुई समूहले उम्मेदवारी घोषणा गरेका छन् । नयाँ कार्यसमिति चयनका लागि सरोजकुमार बस्नेत समूह र विष्णुहरि पाण्डेको समूह निर्वाचनमा उत्रिएका छन् ।

बस्नेत समूहले २४ महिनाको कार्यकालका लागि २४ वटा काम गर्ने भन्दै कार्ययोजना समेत सार्वजनिक गरिसकेको छ । समूहको उपाध्यक्षमा राजेन्द्र रिजाल, महेशबाबु तिमल्सिना र उमेश ढुंगेल छन भने महासचिवमा सन्तोष प्याकुरेल उम्मेदवार छन् ।

त्यस्तै सचिवमा बिक्रम केसी र ज्ञानेन्द्रमान जोशीले उम्मेदवारी दिएका छन भने कोषाध्यक्षमा सूर्य डाँगी र सह–कोषाध्यक्षमा राकेश श्रेष्ठ छन् । समूहले आफ्नो कार्यकालमा हरेक महिना कम्तीमा एउटा काम गर्ने गरी घोषणा गरिसकेको छ ।

त्यस्तै, अर्को समूहको नेतृत्व गरिरहेका विष्णुहरि पाण्डेले ‘सही व्यक्ति सही स्थान–सुदृढ र सम्बृद्ध इक्यान’को नारा अगाडि सारेका छन् । समूहले उपाध्यक्ष पदमा देविदास भट्टराई, खड्ग ताम्लिङ र सपना राजभण्डारीलाई अगाडि सारेको छ । त्यस्तै महाचिवमा शेषराज भट्टराई उम्मेदवार छन् ।

समूहले सचिवमा दीपकराज भुसाल र श्याम कँडेललाई अगाडि सारेको छ भने कोषाध्यक्ष पदमा गोविन्द अधिकारी र सह–कोषाध्यक्ष पदका लागि निरुपमा महर्जन उम्मेदवार छन् ।

शनिबार हुने निर्वाचनले आगामी २ वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ ।

शैक्षिक परामर्श (कन्सलटेन्सी) क्षेत्रमा भएका संघमध्ये इक्यान सबैभन्दा पुरानो र धेरै सदस्य भएको संस्था हो । इक्यानमा जम्म ३७७ सदस्य छन् ।


क्लिकमान्डु