ओमको घान्द्रुकमा शाखारहित बैंकिङ सेवा



काठमाडौं । ओम डेभलपमेन्ट बैंकले कास्कीको घान्द्रुकमा शाखारहित बैंकिङ सेवा शुरु गरेको छ । अन्नपूर्ण गांउपालिकाका अध्यक्ष युवराज कुंवरले मेश्रम बाराह माबिका बिद्यार्थीलाई छात्राबृत्ती प्रदानगरी शाखारहित बैंकिङ सेवाको उद्घाटन गरेका हुन् ।

विकास बैंकहरुमा शाखारहित बैंकिङ सेवा प्रदान गर्ने ओम पहिलो विकास बैंक भएको छ ।

बैंकको सञ्जाल बिस्तार गरी ग्राहकहरुलाई थप सुविधा प्रदान गर्ने उदेश्यका साथ शाखारहित बैंकिङ सेवा शुरु गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारीले बताए ।

शाखारहित बैंकिङ्ग सेवाको लागि बैंकले कर्मचारी बिवेक गुरुङलाई नियुक्त गरेको छ । यस सेवा अन्तर्गत ग्राहकहरुले बैंकको बायोम्याट्रिक्स ट्याब्लेट मेशिनबाट प्रतिदिन २ लाख सम्म निक्षेप जम्मा गर्न र १ लाख सम्म निक्षेप तथा रेमिटेन्सको भुक्तानी लिन र ग्राहकहरुबाट कर्जाको फाईल संकलन गर्नेछ ।

मर्चेन्ट पेमेन्ट सुविधा अन्तर्गत डिस होमको रिचार्ज गर्न, मोवाईलको बिल भुक्तानी तथा रिचार्ज गनर्, सक्नेछन भने चांडै नै बिजुली बत्ती तथा अन्य बिलहरु भुक्तानी गर्ने सुविधा पनि शुरु गरिने प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारीले बताए ।

बैंकले ५२ वटा शाखा, एउटा एक्स्टेन्सन काउन्टर र १६ वटा एटीएमबाट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले चैत्र मसान्तसम्म १९ अर्ब १२ करोड रुपैयाँ निक्षेप संकलन गरी १७ अर्ब ९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।


क्लिकमान्डु