साउनदेखि विदेशबाट आफन्तले पठाएको १ लाखभन्दा बढी नगद लिन नपाइने




काठमाडौं । तपाइका आफन्त बैदेशिक रोजगारीको लागि विदेशमा हुनुहुन्छ ? र, उहाँले पैसा पठाउनु होला र आफ्नो गर्जाे टारौंला भनेर बस्नु भएको छ ? छ भने तपाइको लागि खासै राम्रो समाचार छैन ।

अबको साउन १ गतेदेखि आफन्तले विदेशबाट पठाएको रकममा १ लाखभन्दा बढी नगद लिन पाइने छैन । सोभन्दा बढी नगद चाहिएमा तपाइले आफ्नो बैंक खाता दिनुपर्नेछ, अनि रेमिटान्स कम्पनीले तपाइको खातामा पैसा हालिदिनेछन् । यसरी खातामा पैसा जम्मा भएपछि तपाइले आफ्नो हिसाबले खर्च गर्न पाउनु हुनेछ ।

नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी सम्बन्धी सीमा तोक्दै यस्तो ब्यवस्था गरेको हो । नेपालीलाई बैंकिङ कारोबार गर्ने बानी बसाल्न र नगद कारोबारलाई निरत्साहित गर्न राष्ट्र बैंकले यस्तो ब्यवस्था गरेको हो ।

रेमिटान्स कम्पनी, एजेन्ट वा सबएजेन्ट मार्फत विदेशबाट पठाएको रकम नेपालमा रहेका बैंकहरुमा प्राप्त भएपछि सम्बन्धित बैंकले आगामी असार मसान्तसम्म २ लाख रुपैयाँसम्म नगदै दिन पाउने छन् । साउन १ गतेपछि भने १ लाख रुपैयाँसम्म नगद र बाँकी पैसा बैंक खातामा जम्मा पारिदिनु पर्नेछ ।

यस्तै सामान्य अबस्थामा क्रेडिट कार्डबाट नगद कारोबार गर्न नपाइने ब्यवस्था राष्ट्र बैंकले गरेको छ । तर, ग्राहकलाई नगद अत्यावश्यक भएमा क्रेडिट कार्डको स्वीकृत सीमाको अधिकतम २५ प्रतिशतसम्म झिक्न पाइने छ ।

राष्ट्र बैंकले प्रिपेड क्रेडिट कार्डका पनि सीमा तोकेको छ । अबदेखि बैंक तथा वित्तीय संस्थाहरुले बढीमा १ लाख रुपैयाँसम्मको मात्र प्रिपेड क्रेडिट कार्ड जारी गर्न पाउने भएका छन् ।

प्रिपेड कार्डबाट नेपालमा पैसा झिक्दा प्रतिकारोबार कम्तिमा ५ सय रुपैयाँदेखि बढीमा १० हजार रुपैयाँसम्म वा प्रतिमहिना ५० हजार रुपैयाँसम्म झिक्न पाइने छन् ।

डेविट कार्डबाट भने कम्तिमा ५ सय रुपैयाँदेखि बढीमा २५ हजार रुपैयाँसम्म झिक्न पाइने छ । एक दिनमा १ लाख रुपैयाँभन्दा बढी झिक्न नपाइने ब्यवस्था गरिएको छ । तर, यसमा पनि बैंकहरुले सुरक्षा सम्बेदनशीलता जस्ता कारण देखाएर यस्तो सीमा घटाउन पाउने सुविधा राष्ट्र बैंकले दिएको छ ।

मोबाइल बैंकिङबाट भुक्तानी गर्दा एक पटकमा बढीमा ५ हजार रुपैयाँसम्म वा एक दिनमा बढीमा १० हजार रुपैयाँसम्मको कारोबार गर्न पाइने छ । यस्तो कारोबारको सीमा मासिक ५० हजार रुपैयाँभन्दा बढी हुन नहुने राष्ट्र बैंकको निर्देशन छ ।

इन्टरनेट बैंकिङबाट भुक्तानी गर्दा दैनिक १ लाख रुपैयाँसम्मको कारोबार गर्न पाइने छ । तर मासिक ५ लाखभन्दा बढीको कारोबार गर्न नपाइने राष्ट्र बैंकको भनाइ छ ।

इन्टरनेटबाट बैंक तथा वित्तीय संस्थाको खातामा ट्रान्सफर गर्दा एक पटकमा १ लाख रुपैयाँ र मासिक १० लाख रुपैयाँसम्म कारोबार गर्न पाइने छ । भुक्तानी सेवा प्रदायकले संचालन गरेको वालेटमा ग्राहकले भुक्तानी सम्बन्धी कार्यको लागि नगदै वा ट्रान्सफर गरी रकम जम्मा गर्न पाउने छन् । नगद जम्मा गर्दा सम्बन्धित भुक्तानी सेवा प्रदायकबाट नियुक्त आधिकारिक एजेन्ट वा सबएजेन्ट मार्फत गर्नुपर्ने राष्ट्र बैंकको भनाइ छ ।

एजेन्ट वा सबएजेन्ट मार्फत वालेटमा एक पटकमा अधिकतम ५ हजार रुपैयाँसम्म नगद जम्मा गर्न सकिने छ । तर, यस्तो सीमा एक दिनमा १५ हजार र महिनामा २५ हजारसम्मको मात्रै छ । एजेन्ट वा सबएजेन्ट मार्फत भुक्तानी गर्दा एक पटकमा ५ हजार रुपैयाँसम्म तथा एक दिनमा १५ हजार र मासिक २५ हजारभन्दा बढी हुन नहुने राष्ट्र बैंकको भनाइ छ । सरकारी निकायलाई तिर्नुपर्ने रकममा यस्तो सीमा लागू नहुने ब्यवस्था गरिएको छ ।


क्लिकमान्डु