अब एक क्लिक गर्नुस्, उपभोक्ता ठग्ने विरुद्ध घरबाटै उजुरी दिनुस्




काठमाडौं । कुनै बस्तु तथा सेवा विक्रेताले ठगेमा अबदेखि उपभोक्ताले घरमै बसेर उजुरी गर्न पाउने भएका छन् । उपभोग्य वस्तुमा खराबी भेटिए वा आफू ठगिएको थाहा भएमा घरमै बसेर मोबाइल मार्फत उजुरी गर्न पाइने भएको हो ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्त हित संरक्षण विभागले ‘कन्जुमर कम्प्लेन’ नामक मोबाइल एप ल्याउने भएको छ । सो एप मार्फत उपभोक्ताले आफ्ना गुनासो तथा उजुरीहरु विभागमा गर्न पाउने ब्यवस्था मिलाइएको विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए ।

उपभोक्ताले आफू ठगिएको अबस्थामा गुनासो तथा उजुरी गर्न विभागसम्म पुग्नु पर्ने झन्झटको अन्त्य गर्न यस्तो ब्यवस्था गरिएको उनको भनाइ छ ।

‘सफ्टवेर बनिसकेको छ, डमी तयार भैसक्यो, प्रयोग गरी यसको जाँच गरे पछि, यसलाई सार्वजनिक गर्छौं, महानिर्देशक गौचनले क्लिकमाण्डूसँग भने ।

यसरी एप बने पछि उपभोक्ता जुनसुकै स्थानमा ठगिए पनि एप मार्फत सजिलै उजुरी गर्न पाउने विभागको दाबी छ । यसरी आएका उजुरी अनुसार नै विभागले अनुगमनलाई निरन्तरता दिने उनले बताए ।

यस्तै उनले अबको कार्यकालमा साना पसलको साटो मुख्य श्रोतमा नै गएर अनुगमन गर्ने बताए । उत्पादन स्थल, गोदाम र प्याकेजिङ स्थानमै गएर अनुगमन गर्ने उनको भनाइ छ ।

‘मुहानमै गएर अनुगमन गर्ने छौँ, त्यसका लागि चुनौँती धेरै छन्, श्रोत पाउन सकियो भने हामी सक्दो जडमै पुगेर अनुगमन गर्छौं, मुहानमै अनुगमन भयो भने साना पसलमा हेरिरहनुपर्ने वाध्यता हट्छ,’ गौचनले भने ।

उनले विभागको संरचनालाई पनि संघीय ढाचामा रुपान्तरण गर्ने काम भइरहेको बताए ।

‘अहिले नै प्रदेश अनुसार नियम कानुन बन्न बाँकी छ, अहिले पहिलेकै कामलाई निरन्तरता दिने छौँ, प्रदेश अनुसार बन्ने संघ तथा स्थानीय तह बजार व्यवस्थापनलाई पनि संयुक्त रुपमा लिएर जाने छौँ,’ गौचनले भने ।

गौचनले अनुगमनका क्रममा आएका उजुरीहरुमा जटिल कैफियतहरु सम्बन्धीत मन्त्रालयलाई नै पठाउने र मन्त्रालयले आफ्नो तवरबाट कारबाही गर्ने बताए ।

‘उजुरी गरे पनि कारबाही गर्ने अधिकार हामीलाई छैन, कुनै उत्पादन संस्थामा जटिल कैफियत भेटिए सिधै मन्त्रालय पठाउने गरेका छौं, मन्त्रालयले के कस्तो कारवाही गर्नुपर्ने हो, सो अनुसार कारबाही गर्ने गरेको छ,’ उनले भने ।


क्लिकमान्डु