२०७४ सालमा टेलिकमको सेयर किन्नेहरु भए मालामाल



काठमाडौं । सेयर लगानीकर्ताका लागि २०७४ साल गुमाउने वर्षको रुपमा चिनियो ।

सूचिकृत धेरै कम्पनीको सेयर मुल्य घट्यो । लगानीकर्ताले पनि ठूलो रकम नै २०७४ सालमा गुमाए ।
२०७४ सिमित कम्पनीको मात्र सेयर मुल्य बढ्यो जसमा लगानी गर्नेहरु भने फाइदामा छन् ।

२०७४ साल बैंशाखको तुलनामा २०७४ साल चैतमा सेयर मुल्य बढी हुने कम्पनीमा नेपाल टेलिकम,साल्ट ट्रेडिङ र बोटलर्स नेपाल तराई रहेका छन् ।

जसमा साल्ट ट्रेडिङ र बोटलर्स नेपाल तराईको सिमित लगानीकर्तासँग मात्र सेयर छ । त्यसैले यसलाई चर्चा गर्नु आवश्यक भएन ।

२०७४ सालको सेयर कारोबार र लाभांशको आधारमा हेर्दा टेलिकममा लगानी गर्ने लगानीकर्ताले भने पैसा कमाएको देखिन्छ ।

२०७४ को सुरुवातको दिन टेलिकमको सेयर मुल्य प्रतिकित्ता ६४० रुपैयाँ थियो ।

यदी २०७४ साल बैशाख ३ गते २ लाख रुपैयाँमा टेलिकमको ३१२.५ कित्ता सेयर खरिद गर्न सकिन्थ्यो ।

टेलिकमको सेयर मुल्य २०७४ सालको वर्षको अन्तिम दिन आइपुग्दा प्रतिकित्ता ७३३ रुपैयाँ पुग्यो ।
एकवर्षको ट्रेण्ड हेर्दा टेलिकमको सेयर लाभांशको लागि बुक क्लोज बन्द हुनु अगाडि ९३० सम्म पुगेको छ ।

टेलिकमले गत आर्थिक वर्षको नाफाबाट ५५ प्रतिशत नगद लाभांश दिएको छ ।
२ लाख रुपैयाँको सेयर २०७४ साल बैंशाख ३ मा खरिद गरेर वर्षको अन्तिम दिन बिक्री गर्दा २ लाख २९ हजार ६२ रुपैयाँ पाउँछ ।

यस आधारले टेलिकमको सेयरबाट उसलाई २९ हजार ६२ रुपैयाँ फाइदा भयो । जसमा ५५ प्रतिशत लाभांश हिसाब गर्दा १७ हजार १६० रुपैयाँ नगद लाभांश पाएको छ । यस हिसाबले हेर्दा टेलिकममा लगानी गरेको व्यक्तिलाई एकवर्षको अवधीमा ४६ हजार २ सय २२ रुपैयाँ फाइदा भयो ।

एकवर्ष अगाडिको लगानीको तुलनामा हिसाब गर्दा टेलिकममा लगानी गर्नेहरु अहिले २३ प्रतिशत नाफामा छन् । यस्तो फाइदाको हिसाब बैंशाख ३ को सेयर मुल्यको आधारमा निकालिएको हो । बुक क्लोजको बेला सेयर किन्नेलाई भने नाफा भएको छैन ।

टेलिकमले बोनस सेयर दिने गर्दैन । आजको कारोबार बन्द हुँदा टेलिकमको सेयर मुल्य ७३८ रुपैयाँमा पुगेको छ ।

पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार टेलिकमले ७ अर्ब ४८ करोड रुपैयाँ कमाएको थियो ।

टेलिकमको चुक्ता पुँजी १५ अर्ब छ । टेलिकमले पुँजी बराबर नै नाफा कमाउने गर्छ ।


क्लिकमान्डु