१० बर्षमै यसरी भयो ‘मट्टितेल युग’को अन्त्य



काठमाडौं । आजभन्दा १४/१५ वर्षअघिसम्म काठमाडौंका धेरै डेरावालहरु स्टोभमा खाना पकाउँथे । स्टोभ चलाउनका लागि मट्टितेल चाहिन्थ्यो । जसकारण चोक चोकमा मट्टितेलका डिलहरु देखिन्थे ।

त्यसबेला उच्च मध्यमवर्गको पहुँचमा मात्रै थियो एलपी ।

तर, अहिले अवस्था फेरिएको छ । नेपाली समाजमा स्टोभको प्रयोग करिब लोप नै भयो भन्दा पनि हुन्छ ।

एलपी ग्यासको प्रयोग बढेसँगै मट्टितेल युगको अन्त्य हुन लागेको हो । अहिले यस्तो अवस्था आयो कि स्टोभ चलाउनेलाई काठमाडौंका मात्रै होइन, मोफसलका घरबेटीले कोठा भाडामा दिँदैनन् ।

अहिले अधिकांस अर्धग्रामीण क्षेत्रमा समेत एलपी ग्यासको प्रयोग हुन थालिसकेको छ । जसले पनि मट्टितेलको प्रयोग घटाउन मद्दत गरेको हो ।

त्यतिमात्रै होइन, विद्युतको पहुँचको विस्तारले पनि मट्टितेलको प्रयोग विस्थापित गर्दै लगेको छ ।

बिजुली नपुगेका गाउँहरुमा उज्यालोका लागि मट्टितेलबाट बल्ने टुकी र लाल्टिनको प्रायोग हुन्थ्यो । पछिल्लो १० वर्षकै कुरा गर्ने हो भने बैकल्पिक उर्जाबाहेक विजुलीको पहुँच १७/१८ प्रतिशतले बढेको नेपाल विद्युत प्राधिकरणको तथ्यांक छ ।

त्यस्तै, ग्रामीण क्षेत्रमा सोलार र गोबरग्यासको प्रयोग बढ्दा पनि मट्टितेलको प्रयोग घटेको हो ।

मट्टितेल युगको अन्त्य हुन लागेको तथ्य यसको आयातले देखाउँछ । नेपाल आयल निगमका अनुसार आर्थिक वर्ष २०६४/६५ मा १५ करोड २१ लाख लिटर मट्टितेल आयात भएकोमा गत आर्थिक वर्ष २०७३/ ७४ मा जम्मा २ करोड लिटर मात्र मट्टितेल आयात भएको छ ।

अन्य बस्तुहरुको आयात गुणात्मकरुपमा बढिरहेको अवस्थामा मट्टितेलको आयात भने गुणात्मकरुपमा घटेको छ ।

एलपी ग्यासको आयात भने गुणात्मक रुपमा बढिरहेको तथ्यांकले देखाउँछ । निगमका अनुसार आर्थिक वर्ष २०६४/६५ मा एलपीजी ग्यास ९७ हार मेट्रिकटन भित्रिएको थियो । गत आर्थिक वर्ष २०७३/७४ मा आइपुग्दा २३ लाख ६२ हजार मेट्रिकटन एलपी ग्यास आयात भएको छ ।
आर्थिक वर्ष २०६४/६५ देखि हरेक वर्ष मट्टितेलको आयात घट्दै गएको र जबकी एलपीको आयात भने हरेक वर्ष बढ्दै गएको देखिन्छ ।

आयल निगमका प्रवक्ता विरेन्द्र गोइतका अनुसार अहिले यसको प्रयोग बाटोमा पिच गर्न अलकत्रा बनाउँदामात्र प्रयोग हुने गरेको छ, भान्छामा खाना पकाउन भने अन्त्यन्तै कम प्रयोग हुन्छ ।

‘मानिसहरु सुख भोगी भएकै कारण ग्यासको प्रयोग बढ्दो क्रममा छ,’ उनले भने ।

यस्तै २०६५/६६ सालमा मट्टितेल ७ करोड ७७ लाख ९९ हजार लिटर आयात भएको तथ्य रहेको छ । सोही अवधिमा एलपि ग्यास १ लाख १६ हजार मेट्रिकटन आयात गरिएको छ ।

२०६६/६७ सालमा ५ करोड २० लाख लिटर मट्टितेल आयात भएको छ । सोही वर्ष एलपी ग्यास १ लाख ४१ हजार मेट्रिकटन भित्रिएको छ ।

२०६७/६८ सालमा ४ करोड ३० लाख लिटर मट्टितेल भित्रिएको छ । ग्यास १ लाख ५९ हजार मेट्रिकटन भित्रिएको हो ।

२०६८/६९ सालमा ४ करोड १० लाख लिटर मट्टितेल आयात भएको छ । यसै अवधिमा १ लाख ८१ हजार मेट्रिकटन एलपी ग्यास भित्रिएको विभागले जानकारी दिएको छ ।

२०६९/७० सालमा २ करोड ४० लाख लिटर मट्टितले आयात भएको छ । ग्यास २ लाख ७ हजार मेट्रिकटन आयात भएको छ ।

२०७०/७१ सालमा १ करोड ८० लाख लिटर मट्टितेल आयात भएको थियो । ग्यास २० लाख ३२ हजार मेट्रिकटन आयात भएको छ ।

२०७१/७२ सालमा मटितेल १ करोड ८० लाख लिटर आयात भएको थियो । यसै अवधिमा ग्यास २० लाख ५८ हजार मेट्रिकटन आयात भएको विभागले जानकारी दिएको छ ।

२०७२/७३ सालमा भने भारतीय नाकाबन्दी भएका कारण १ करोड ४० लाख लिटर मट्टितले आयात भएको थियो । नाकाबन्दीकै कारण एलपि ग्यास २० लाख ५४ हजार मेट्रिकटन आयात भएको थियो ।


पुष्प दुलाल