२१औ पुष्प मेला चैत ३० गतदेखि




काठमाडौं । चैत ३० गतेदेखि २१औँ पुष्प मेला आयोजना हुने भएको छ । कृषि विकास मन्त्रालय र पुष्प विकास केन्द्रको सहकार्यमा फ्लोरिकल्चर एशोसिएसन नेपालले भृकृटीमण्डपमा पुष्प मेला आयोजना गर्न लागेको हो ।

स्वच्छ वातावरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय नाराका साथ आयोजना गरिन लागेको मेला बैशाख ३ गतेसम्म संचालन हुनेछ ।

फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष कुमार कसुजु श्रेष्ठले पुष्प जन्य वस्तुमा देश आत्मनिरर्भर हुनका लागि सरकारले कृषि क्षेत्रमा लगानी गर्नुपर्ने बताए ।

उनले कृषि आधुनिकिकरणमा लगानी नबढाएको खण्डमा कृषिमा ठूलो क्षती पुग्नतर्फ सचेत गराए ।

‘पुष्प जन्य वस्तुमा देशलाई आत्मनिर्भर बनाउन आवश्यक छ, हामी सधै अरु देशमा भरपर्नुपर्ने हो भने अर्थतन्त्रमा ठूलो असर पर्नेछ,’ श्रेष्ठले भने ।

मेलामा सहभागि भएका विभिन्न पुष्प व्यवसायीहरुले उत्पादन गरेका फूलका विरुवाबीच स्वच्छ प्रतिस्पर्धा गराइने र प्रतिस्पर्थामा प्रथम हुने पुष्प व्यवसायीलाई नगद, सिल्ड तथा प्रमाण पत्रद्धारा पुरस्कृत गरिने आयोजकले जानकारी दिए ।

मेलाका क्रममा उत्कृष्ट मौसमी फूल, आलंकारिक विरुवा, पुष्प सजावट, कट फ्लावर लगायतका १० वटा विधामा प्रतिस्पर्धा गराइने छ ।

गत वर्ष भएको तेस्रो अन्तराष्ट्रिय फ्लोरा मेलामा ६५ हजार मानिसहरु सहभागि भएका थिए । सो मेलामा ७५ लाख रुपैयाँसम्मको व्यवसायीक कारोबार भएको आयोजकले जानकारी दिए ।


क्लिकमान्डु