मेलम्चीको सुरुङ ब्रेक थ्रु, दशैंसम्ममा पानी काठमाडौं आइसक्ने



काठमडौं । मेलम्ची खानेपानी आयोजनाको अन्तिम सुरुङ ब्रेक थ्रु भएको छ । आयोजनको ३ वटा सुरुङमध्ये ग्यालथुङ–सिन्धु खण्डको साढे ७ किलोमिटर सुरुङ मंगलबार ब्रेक थ्रु भएको हो ।

खानेपानी तथा सरसफाइ मन्त्री विना मगरलले मेलम्ची आयोजनाको सुरुङ खन्ने काम सकिएको जानकारी गराएकी हुन् ।

‘सुरुङको ब्रेक थ्रुसँगै उपत्यकाबासीलाई दशैंसम्ममा पानी पिलाउने अभिलासामा ठूलो सफता हासिल भएको छ,’ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मगरले भनिन् ।

सरकारले दातृ निकाय एसियाली विकास बैंक (एडीबी)को सहकार्यमा सन् २००८ देखि मेलम्चीको पानी काठमाडौं भित्र्याउने प्रक्रिया अघि बढाएको थियो । सन् २०१० को जुन महिनादेखि सुरुङ खन्ने कामको सुरुवात गरेको थियो । सुरुङ खन्न थालेको ७ बर्षपछि सरकारले पूर्ण सफलता हासिल गरेको हो ।

मेलम्चीको पानी उपत्यका भित्र्याउने ३ वटा सुरुङमध्ये यस अघि सुन्दरीजल–सिन्धु र ग्यालथुम–अम्बाथान खण्डको सुरुङ ब्रेक थ्रु भइसकेको छ ।

मेलम्ची खानेपानी आयोजनका निर्देशक रामचन्द देवकोटाले इन्जिनियरिङ काममा सुरुङ ब्रेक थ्रुलाई महत्वपूर्ण उपलब्धीको रुपमा लिने गरिएको जानकारी गराए ।

‘सुरुङ ब्रेक थ्रु एकदमै चुनौतीपूर्ण कार्य हो, सुरुङको ब्रेक थ्रुमा सफता मिलेकाले यसलाई हामी उत्सवको रुपमा मनाउने छौं,’ देवकोटाले भने ।

प्राविधिक रुपमा सुरुङ खन्ने काम आज सम्पन्न भएपनि ब्रेक थ्रुको औपचारिक कार्यक्रम भने चैत २९ गते राखिएको छ ।


क्लिकमान्डु