सिनियरलाई बाइपास गर्दै अर्थमन्त्री खतिवडाले दुई रामशरणको साथमा श्वेतपत्र बनाए



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थ मन्त्रालयका सिनियर स्टाफहरुसँग सल्लाह नै नगरी श्वेतपत्र तयार पारेका छन् ।

यतिसम्म कि मन्त्री खतिवडाले अर्थसचिव शंकर प्रसाद अधिकारीलाई समेत सहभागी नगराई श्वेतपत्र तयार पारेका हुन् ।

यसरी गुपचुप तयार पारिएको श्वेतपत्रमा खतिवडा स्वंयले सबैभन्दा बढी मिहेनत गरेका छन् । अर्थमन्त्री खतिवडाले अर्थका सहसचिव रामशरण पुडाशैनी र अर्थ मन्त्रालयका सल्लाहकार रामशरण खरेललाई मूख्य भूमिका दिएर श्वेतपत्र तयार पारेका हुन् ।

‘श्वेतपत्र बनाउँदा मन्त्रीज्यूले दुई रामशरणलाई मात्रै भूमिका दिनुभयो,’ अर्थ मन्त्रालयका एक सहसचिवले क्लिकमाण्डूसँग भने, ‘सहसचिहरुलाई त भूमिका दिनुभएन भएन, अर्थसचिव र राजस्वसचिवलाई समेत बाइपास गर्नुभयो ।’

यसरी अर्थमन्त्रीले गुपचुप श्वेतपत्र बनाएकोमा अर्थसचिव, राजस्व सचिव र अरु सहसचिवहरु असन्तुष्ट बनेका छन् ।

श्वेतपत्रमा के छन् ? भन्ने क्लिकमाण्डूको प्रश्नमा अर्का सहसचिवले भने, ‘हामीलाई एक दिन पनि श्वेतपत्र तयार पार्ने काममा सहभागी गराईएन, रामशरणजीलाई थाछ उहाँलाई नै सोध्नुहोस् ।’

आफूहरुलाई सहभागी नगराएपछि अर्थसचिव र राजस्व सचिव पनि अर्थमन्त्रीको कार्यशैलीप्रति रुष्ट बनेको अर्थ मन्त्रालयका अधिकारीहरुको दाबी छ ।

‘मन्त्रीज्यूले यसरी सचिवज्यूहरुलाई बाइपास चाहिँ गर्नु हुँदैन थियो,’ स्रोतले भन्यो ।

यसअघि भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा तत्कालीन अर्थसचिव रामेश्वर खनाललाई बाइपास गरेर बजेट तयार गरेका थिए । यसरी अर्थसचिव खनाललाई बाइपास गरेर बजेट बनाउँदा अहिलेका अर्थमन्त्री डा. खतिवडा पनि बजेट बनाउने टिममा सहभागी थिए ।

अर्थमन्त्रीले आफूलाई बाइपास गरेर बाहिर बाहिरै बजेट बनाउन थालेको थाहा पाएपछि खनालले पदबाट राजिनामा दिएका थिए । भरतमोहन शैलीमा मन्त्री खतिवडाले श्वेतपत्र बनाएको अर्थका अधिकारीहरु बताउँछन् ।

अर्थमन्त्री खतिवडाले आज दिउँसो श्वेतपत्र सार्वजानिक गर्दैछन् ।


पुष्प दुलाल