लप्सेफेदी-बुटवल-गोखरपुरसम्मको प्रसारण लाइन बनाउन अमेरिकाले ५० अर्ब लगानी गर्ने



काठमाडौं । अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसि)मार्फत् नेपालको ऊर्जा तथा जलविद्युत् क्षेत्रमा ठूलो लगानी गर्ने भएको छ ।

एमसिसि नेपाल जस्ता अल्पकविकासित देशहरुका लागि लगानी गर्नका लागि खडा गरिएको निकाय हो ।

सो परियोजनामार्फत् अमेरिकाले नेपालमा ५० अर्ब रुपैयाँ बराबरको लगानी गर्ने यसअघि नै घोषणा गरेको छ ।

सो रकम प्रसारण लाइन निर्माणमा खर्च गरिनेछ । काठमाडौंको लप्सेफेदीदेखि बुटवल गोखरपुरसम्मको प्रसारण लाइन निर्माणमा सो रकम खर्च गरिनेछ ।

४०० केभी क्षमताको हाई भोल्टेज प्रसारण लाइन निर्माणको काम आगामी भदौदेखि सुरु हुने छ । वन क्षेत्रको जग्गा प्रयोग, रुख कटान तथा आयोजनाको विस्तृत परियोजना(डिपिआर) निर्माणको काम अगाडि बढीरहेको छ ।

अमेरिकाले नेपालको प्रसारण प्रणालीको मेरुदण्ड निर्माणमा सरकारलाई सहयोग गरेको भन्दै आगामी दिनमा केही ठूला परियोजनामा समेत सहयोग गर्ने बताएको छ ।

अमेरिका सरकार नेपाल सरकारको प्राथमिकतामा रहेका केही महत्वपूर्ण परियोजना सहकार्य गर्न तयार रहेको राजदूत एलाइना बि टेप्लिजले बताएकी छिन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनसँग पनि भेटवार्ता गरिसकेकी छिन् ।

१० वर्षमा १० हजार मेगावाट विजुली उत्पादन गर्ने लक्ष्यका साथ सरकार अघि बढिरहेको सरकारले अमेरिकी सहयोगलाई खुला दिलले स्वागत गरेको मन्त्री पुनको भनाइ छ ।

अमेरीकाले माथिल्लो कर्णाली र अरुण तेस्रो जस्ता ठूला आयोजना निर्माण सम्पन्न भएपछि त्यसले लगानीको क्षेत्र र दायरा समेत बढ्ने विश्वास लिएको छ । त्यसले विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न थप हौसला मिल्ने बताउदै आएको छ ।


पुष्प दुलाल