बैशाखदेखि ४८.८ मेगावटको खिम्ती आयोजनको निर्माण शुरु



काठमाडौं । आगामी बैशाखदेखि ४८.८ मेगावाट विद्युत उत्पादन क्षमताको खिम्ती–२ जलविद्युत आयोजनाको निर्माण शुरु हुने भएको छ ।

आयोजनाको प्रवद्र्धक कम्पनी पिपुल्स इनर्जी र चोइकिङ वाटर एण्ड टर्वाइन वक्र्स, चीनले इन्जिनियरिङ परक्युमेन्ट कन्स्ट्रक्सन र फाइनान्स (इपीसीएफ) ढाँचामा आयोजना निर्माण गर्न लागिएको हो ।

आयोजना निर्माणका लागि लाग्ने ८ करोड ८० लाख अमेरिकी डलर अर्थात् करिब ९ अर्ब नेपाली रुपैयाँ बराबरको पिपुल्स इनर्जी र चोइकिङ वाटर एण्ड टर्वान वक्र्सबीच २०७४ फागुन ३० गते ठेक्का सम्झौता भइसकेको छ ।

ठेक्का सम्झौता अनुसार चिनियाँ कम्पनीले वैशाखदेखि निर्माण कार्य सुरु गर्ने पिपुल्स इनर्जीका अध्यक्ष कृष्ण आर्चायले बताए ।

‘कम्पनीले बाधशाला र विद्युत गृहसम्म पुग्ने सडक निर्माण गरिसकेको छ, चिनियाँ कम्पनीले काम गर्ने स्थानको साइड क्लियर गरिसकेका छौं,’ आइतबार आयोजित पत्रकार सम्मेलनमा आर्चायले भने ।

कम्पनीका प्रोजेक्ट म्यानेजर तथा इन्जिनियर शिवहरि शर्माले सुरुङ निर्माणको लागि केहि समय लाग्ने बताए ।

‘आयोजना क्षेत्रबाट सुरुङसम्मको सडकको लम्बाई साढे १२ किलोमिटर छ, साढे ७ किलोमिटरसम्म सडक विस्तारको काम गरिसेका छौं, बाँकी ५ किलोमिटर सडकमा विस्तारको लागि वन मन्त्रालयको स्वीकृति लिएर काम गर्नु पर्ने देखिएको छ,’ शर्माले भने ।

सडक निर्माणको कार्य पछि सुरुङको काम अगाडि बढाउने शर्माले बताए ।

इपीसीएफ सम्झौता अनुसार कम्पनीले आयोजना निर्माणका लागि ठेकेदारलाई परिचालन पेश्कीवापत कुल ठेक्का रकमको १० प्रतिशत दिनेछ ।

त्यसपछि आयोजना सम्पन्न भएको ७ सय दिनभित्र सबै रकम चुक्ता गर्ने छ । आयोजनाको कुल लागत १० अर्ब ५० करोड रुपैयाँ रहेको छ । विद्युत आयोजना निर्माणका लागि लाग्ने खर्च चिनियाँ कम्पनीले व्यवर्होने छ भने सडक, पुल, मुआब्जा लगायतको खर्च पिपुल्स इनर्जीले व्यवहर्ने छ ।

२०७८ असारसम्म बिजुली गर्ने कम्पनीले जानकारी दिएको छ । कम्पनी र नेपाल विद्युत प्राधिकरणबीच विद्युत खरिद विक्री सम्झौता (पीपीए ) भइसकेको छ ।


पुष्प दुलाल