कास्कीमा थपियो १३ मेगावाट विद्युत्



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा कूल १३ मेगावाट विद्युत् थप भएको छ ।
कास्की जिल्लामा आयोजना स्थल रहेको मड्क्यू खोलामा निर्माण सम्पन्न भएको मड्क्यू खोला जलविद्युत् आयोजनाले यही शनिबारदेखि प्राधिकरणको प्रणालीमा १३ मेगावाट विद्युत् थप गरेको हो ।
सिक्लेस हाइड्रो पावरले निर्माण गरेको उक्त आयोजनालाई प्राधिकरणको उच्चा प्राविधिक टोलीले राष्ट्रिय प्रसारण प्रणालीमा जडान गरेको हो ।
प्रवद्र्धक कम्पनीका प्रमुख निराजन महर्जनका अनुसार क्षमता १३ मेगावाट भएपनि नदीमा पानी कम भएका कारण हाल आयोजनाले ५ मेगावाट मात्रै विद्युत् उत्पादन गरेको छ ।
आयोजनाबाट उत्पादित विद्युत् कूल १४ किलोमिटर लामो प्रसारण लाइन मार्फत  मादी सवस्टेशनमा जोडिएको छ ।
विद्युतगृहदेखि सबस्टेसनसम्म विद्युत् पुर्याउन आयोजना आफैले प्रसारण लाइन निर्माण गरेको हो ।
हाल परिक्षण उत्पादन भइरहेको र १५ दिन प्राधिकरणलाई नशिुल्क विद्युत् उपलब्ध गराएर परिक्षण समपन्न गरेपछि सो आयोजनाले व्यवसायिक रुपमा विद्युत् उत्पादन सुरु गर्ने जनाएको छ ।
विसं २०७० देखि निर्माण सुरु भएको सो आयोजना प्रतिमेगावाट लागत भने  १७ करोड रुपैयाँ हाराहारीमा रहेको छ ।
भूकम्प, भारतको नाकाबन्दीलगायतका समस्याबाट तोकिएको समय भन्दा दुइृ वर्ष आयोजना ढिलो सम्पन्न भएको हो ।
आयोजनामा नेपाल बैंक लिमिटेडको नेतृत्वमा  सिद्धार्थ, ग्लोबल, नेपाल बंगालादेश बैंक, एनआइडिसी र कृषि विकास बैंक लिमिटेडले ऋण लगानी गरेका छन् । आयोजनामा कास्कीका स्थानीय र गैरआवासिय नेपालीको समेत लगानी रहेको छ । पछिल्लो समयमा कास्की र पर्वत जिल्ला हाइड्रो हवको रुपमा परिचित भएको छ ।
सो आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएपछि कास्की र आसपासको क्षेत्रमा विद्युत् आपूर्तिमा सहज भएको जनाइएको छ ।


पुष्प दुलाल