नेपाली बैंकलाई बिदेशी बैंकबाट ऋण ल्याउन दिने गृहकार्य




काठमाडौं । नेपाली बैंकहरुमा लगानीयोग्य रकम (तरलता) अभाबको दीर्घकालिन समस्या समाधान गर्न नेपाली बैंकहरुले विदेशी बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिन पाउने ब्यवस्था गर्न लागिएको छ ।

तरलता अभाब दीर्घकालिन भएको र ठूला परियोजना संचालन गर्न लगानी आवश्यक पर्ने भएकोले बिदेशी बैंक तथा वित्तीय संस्थाहरुबाट नेपाली बैंकहरुले ऋण लिन पाउने बाटो खुल्ला गर्ने गृहकार्यमा नेपाल राष्ट्र बैंक लागेको हो ।

नेपाली बैंकले बिदेशी बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिन बाटो खुल्ला गर्ने नीतिगत ब्यवस्थाको लागि आन्तरिक गृहकार्य भएको नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए ।

‘हामी छलफलमै छौं, नीतिगत ब्यवस्था भएकोले बोर्डसम्म पुग्नुपर्ने हुन्छ, विभिन्न विकल्पहरु प्रस्तावको रुपमा आएका छन्, कसरी दिने, कतिसम्म ल्याउन दिने भन्ने छलफल भइरहेको छ,’ प्रवक्ता पौडेलले क्लिकमाण्डूसँग भने ।

यसरी नेपाली बैंकहरुले बिदेशी बैंक तथा वित्तीय संस्थाहरुबाट ल्याएको ऋण रकम नेपालको उत्पादनशील क्षेत्रमा लगानी हुनै पर्ने अनिवार्य शर्त भने राष्ट्र बैंकले तोक्नेछ ।

‘यसरी ल्याइएको रकम उत्पादनशील क्षेत्रमा लगानी हुनैपर्छ, यसको सदुपयोग भए नभएको प्रभावकारी अनुगमन गर्छौं, अरु बिषय भने छलफलपछि टुंगिन्छ,’ प्रवक्ता पौडेलले भने ।

राष्ट्र बैंकले नेपाली बैंकहरुले बिदेशी बैंक तथा वित्तीय संस्थाहरुबाट कतिसम्म ऋण लिन पाउने, कति ब्याजदरसम्मको लिन पाउने, भुक्तानी अबधि कम्तिमा कति बर्षको हुनुपर्ने भन्ने जस्ता आधार पनि तय गर्ने भएको छ । नेपाली बैंकहरु बिदेशी बैंक तथा वित्तीय संस्थाहरुबाट मात्रै ऋण लिन पाउने वा अन्य संस्थाहरुबाट पनि पाउने भन्ने सन्दर्भमा पनि छलफल गरिरहेको छ ।


क्लिकमान्डु