प्रधानमन्त्री ओलीलाई अर्थमन्त्री खतिवडाले यसरी सम्झाए



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिना अगाडि सम्पत्ति शुद्धिकरणको विषयमा एउटा विवादास्पद अभिव्यक्ति दिए ।

नेपाल चेम्बर अफ कमर्शको टोलीसँग प्रधानमन्त्री बन्नु अगाडि ओलीले लगानीको कालो र सेतो रंग नहुने बताएका थिए । ओलीले लगानी भनेको लगानी हो भन्दै सम्पत्ति शुद्धिकरण निवारण ऐन विपरित अभिव्यक्ति दिए ।

नेपालले सम्पत्ति शुद्धिकरणको ऐन पारित गरेदेखि नै व्यवसायीका संगठनहरुले जहिलेपनि सम्पत्ति अभिलेखिकरण गर्न पाउनुपर्ने र विगतको सम्पत्ति कसरी कमाइएको त्यो स्रोत खोज्न नहुने माग राख्दै आएका छन् ।

प्रधानमन्त्री बन्नु अघि ओलीको अभिव्यक्तिले उत्साहित बनेका चेम्बर टोलीले होलीको दिन शुभकामना दिने र आफ्नो माग राख्न प्रधानमन्त्री निवास बालुवाटार पुग्यो ।

चेम्बरले लिखित रुपमा स्रोत नखुलेखको स्वदेशी सम्पत्ति अभिलेखीकरण गरेर लगानीको वातावरण बनाउन माग गर्यो ।

‘कुनै पनि नेपाली नागरिकले लगानीको लागि स्रोत खुलाउनु पर्ने व्यवस्थाले यथेष्ट मात्रामा लगानी हुन सकेको छैन। यो व्यवस्था लगानीको लागिअनुकूल वातावरण बन्न नसक्नुका प्रमुख कारणको रुपमा लिइएको छ,’ सुझाव प्रतिवेदनमा भनिएको छ।

होलीको दिन प्रधानमन्त्री ओलीले भने सम्पत्ति शुद्धिकरणको विषयमा केही कुरा गरेनन् ।

केपी ओलीको सम्पत्ति शुद्धिकरणको अभिव्यक्तिले सबैभन्दा बढी चिन्ता भने हालका अर्थमन्त्री डा। युवराज खतिवडालाई पारेको थियो । ओलीकै कोरटिमका सदस्य खतिवडाले ५ वर्ष गभर्नर बन्दा सम्पत्ति शुद्धिकरणमा निवारणमा कडा अडान राखेका थिए । उनले व्यवसायी अजेयराज सुमार्गीको विदेशबाट आएको पैसा स्रोत नखुलेको भन्दै त्यो पैसा रिलिज गर्न रोकेका थिए । रोकिएको रकममा आधाभन्दा बढी भने अदालतको आदेशबाट फुकुवा भएको छ ।

ओलीले प्रधानमन्त्री बन्नु अगाडि दिएको अभिव्यक्तिले सम्पत्ति शुद्धिकरणको विषयमा अन्तराष्ट्रिय रुपमा असजिलो पार्ने खालका थियो । खतिवडा आफैपनि नेपालमा सम्पत्ति शुद्धिकरण निवारणका ऐन तथा कानून बनाउन विगतमा क्रियाशिल थिए ।

खतिवडाले ओलीको अभिव्यक्ति आएलगत्तै उनलाई यो विषयले नेपालाई पार्न सक्ने दीर्घकालीन असरको बारेमा बुझाए । पार्टीका बरिष्ठ नेतालाई पाखा लगाउँदै अर्थमन्त्रीको जिम्मा दिएका खतिवडाको भनाई ओलीले नमान्ने कुरै भएन ।

खतिवडाले ओलीलाई सम्पत्ति शुद्धिकरणको विषयमा व्यापारील भने अनुसारको काम भएमा नेपाल कालोसूचिमा पर्ने र नेपालको विश्वसँग आर्थिक रुपमा सम्बन्ध बिच्छेद हुनेसम्मको संवेदनशीलताको विषयमा अवगत गराएका थिए । त्यसपछि ओली सम्पत्ति शुद्धिकरणको विषयमा आफ्नो भनाइबाट ब्याक भए ।

अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री ओलीलाई सम्पत्ति शुद्धिकरणको विषयमा ‘मिसलिड’ गरिएको बताएका थिए ।

नेपालले सम्पत्ति शुद्धिकरण निवारणको लागि अन्तर्राष्ट्रिय रुपमा प्रतिबद्धता गरेको । सम्पत्ति शुद्धिकरण निवारणको क्षेत्रमा क्रियाशिल फाइनान्सियल एक्सन टाक्स फोर्स ९एफटिएफ०ले नेपालको विषय मुल्यांकन गर्छ ।

विगतमा ग्रे जोनमा रहेको नेपाल त्यसबाट माथि उठेको छ । अब नेपालको मुल्यांकन गर्ने समय आएको छ । यस्तो अवस्थामा प्रधानमन्त्रीको अभिव्यक्तिले नेपाललाई अन्तर्राष्ट्रिय रुपमा असजिलो पार्ने थियो ।

अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री ओलीलाई सम्पत्ति शुद्धिकरणको विषय बुझाएपछि त्यसपछि ओलीले यसमा केहीपनि अभिव्यक्ति दिएका छैनन् ।

तर, प्रधानमन्त्री ओलीले अर्थमन्त्रालय मातहत हुने राजस्व अनुसन्धान र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई भने प्रधानमन्त्री कार्यालय मातहतमा लगिसकेका छन् ।

एमाले स्थायी कमिटिका सदस्य सचिव प्रदिप ज्ञवालीलाई क्याविनेट मन्त्री बनाएर ओलीले यी महत्वपूर्ण विभाग हेर्न दिन लागेका छन् ।


पुष्प दुलाल