यी आधा दर्जन इन्टरनेट सेवा प्रदायक कम्पनी, जो सरकारलाई रोयल्टी तिर्न अटेर गरिरहेका छन्



काठमाडौं । नेपालका प्रमुख र नाम चलेका इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले नै नियमनकारी निकायलाई समयमा रोयल्टी नतिर्ने गरेको भेटिएको छ । बजार बिस्तारमा आक्रमक भएका र व्यवसाय वृद्धि गरिरहेका कम्पनीहरुले नै सरकारलाई समयमा रोयल्टी नतिर्ने गरेको देखिएको हो ।

दूरसंचार क्षेत्रको नियमनकारी निकाय तथा रोयल्टी उठाउने निकायको रुपमा रहेको नेपाल दूरसंचार प्राधिकरणले पटक–पटक ताकेता गर्दा पनि समयमा रोयल्टी बुझाउने गरेका छैनन् ।

यसरी समयमा रोयल्टी नबुझाउने कम्पनीहरुमा भायोनेट कम्यूनिकेसन्स प्रालि, क्लासिक टेक प्रालि, ब्रोडलिंक नेटवर्क एण्ड कम्यूनिकेसन प्रालि, नेट म्याक्स टेक्नोलोजिज प्रालि, आईटेल कम्यूनिकेसन प्रालि लगायतका कम्पनीहरु रहेका छन् ।

प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले सम्बन्धित विभागबाट ताकेता गर्ने गरेपनि केहि कम्पनीहरुले अटेर गर्ने गरेको बताए ।

‘हामीले पटक पटक ताकेता गर्दा पनि रोयल्टी समयमा बुझाउन कम्पनीहरुले अटेर गर्ने गरेका छन्, यस्ता कम्पनीहरुलाई लाइसेन्सको शर्तअनुसार कानूनी कारबाहिमा जान्छौं,’ प्रवक्ता अर्यालले भने ।

उनकाअनुसार यसरी समयमा नै रोयल्टी नतिर्ने कम्पनीहरुलाई थप दस्तूरसहित जरिवाना लगाउने बारे सरोकारबाला मन्त्रालयलाई सिफारिस गरिसकेको भएपनि तत्काल सो पारित नहुँदा समस्या देखिएको छ ।

प्राधिकरणका अनुसार उल्लेखित कम्पनीहरुले सरकारलाई करोडौं रुपैयाँ रोयल्टि तिर्नुपर्नेछ तर रोयल्टि तिर्ने समय गुज्रिएको कयौं महिनापछि पनि उनीहरुले रोयल्टि तिर्ने छाँटकाँट देखाएका छैनन् ।

समयमा रोयल्टी नतिर्ने कम्पनीहरुमध्ये सबैभन्दा धेरै रोयल्टी रकम भायोनेट कम्यूनिकेसन्स् प्रालिको देखिएको छ । सो कम्पनीले आर्थिक वर्ष २०७३/७४ को वित्तीय विवरणअनुसार असोज मसान्तसम्ममा १ करोड ४२ लाख रुपैयाँ रोयल्टी बापतको रकम सरकारलाई बुझाउनुपर्ने हुन्छ । तर कम्पनीहरुले हालसम्म पनि सो रकम बुझाएको छैन् । सो कम्पनी इन्टरनेट सेवा प्रदायक संघ (आईस्पान) का पूर्वअध्यक्ष विनय बोहराको हो ।

त्यसैगरि समयमा सरकारलाई रोयल्टि बापतको रकम नतिर्ने ठूलो कम्पनीमा क्लासिक टेक प्रालि रहेको छ । सो कम्पनीले पनि प्राधिकरणलाई आर्थिक वर्ष २०७३/७४ को वित्तिय विवरणअनुसार असोज मसान्तसम्ममा तिर्नुपर्ने रोयल्टी रकम हालसम्म बुझाएको छैन् । क्लासिक टेकले प्राधिकरणलाई सो आवको ५८ लाख रुपैयाँ रोयल्टी तिर्नुपर्ने हुन्छ ।

त्यसैगरि अर्को इन्टरनेट सेवा प्रदायक कम्पनी ब्रोडलिंक नेटवर्क एण्ड कम्यूनिकेसन प्रालिले समेत रोयल्टी रकम बुझाएको छैन् । कम्पनीले आर्थिक वर्ष २०७३/७४ को वित्तिय विवरणअनुसार असोज मसान्तसम्ममा तिर्नुपर्ने २५ लाख २५ हजार रुपैयाँ रोयल्टी बापतको रकम समेत तिरेको छैन् ।

नेट म्याक्स प्रालि र आईटेल कम्यूनिकेसन प्रालिले भने प्राधिकरणलाई आर्थिक वर्ष २०७२/७३ देखिकै रोयल्टी रकम तिरेका छैनन् । नेट म्याक्स टेक्नोलोजिज प्रालिले आर्थिक वर्ष २०७२/७३ को वित्तिय विवरणअनुसार ३ लाख ४७ हजार रुपैयाँ रोयल्टि बापतको बक्यौता तिरेको छैन भने आर्थिक वर्ष २०७३/७४ को वित्तिय विवरण नै बुझाएको छैन् ।

आईटेल कम्यूनिकेसनले पनि दुई आर्थिक वर्षदेखिको रोयल्टी बुझाएको छैन् । कम्पनीले प्राधिकरणमा बुझाउनुपर्ने आर्थिक वर्ष २०७२/७३ को वित्तिय विवरणअनुसारको रोयल्टी रकम ८ लाख ५० हजार रुपैयाँ बुझाएको छैन भने आर्थिक वर्ष २०७३/७४ को वित्तिय विवरण नै प्राधिकरणमा हालसम्म बुझाएको छैन् ।

ब्रोडलिंकले आर्थिक वर्ष २०७२/७३ को वित्तीय विवरणअनुसार १२ लाख ६२ हजार रुपैयाँ तिर्नुपर्ने छ भने ग्रामिण दूरसंचार कोषको रकम र शतप्रतिशत जरिवाना रकम समेत तिरेको छैन् । सो कम्पनीले आर्थिक वर्ष २०७३/७४ को वित्तिय विवरणअनुसार असोज मसान्तसम्ममा तिर्नुपर्ने २५ लाख २५ हजार रुपैयाँ रोयल्टि बापतको रकम समेत तिरेको छैन् ।

यसका साथमा इन्टरनेट सेवा प्रदायक कम्पनीहरु एलाइड नेट लिंक टेक्नोलोजिज प्रालि र आईबिबिएस नेपाल प्रालिले पनि आफूले प्राधिकरणमा बुझाउनुपर्ने रोयल्टि बापतको रकम नबुझाएको प्राधिकरणले जनाएको छ ।


पुष्प दुलाल