सिटिइभिटीले ७ वटै प्रदेशमा कार्यालय सञ्चालनमा ल्याउने




काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद (सिटिइभिटी) ले सातै प्रदेशमा आफ्नो कार्यालय खोल्ने भएको छ । आगामी वैशाखसम्ममा सात वटै प्रदेशमा कार्यलय सञ्चालनमा ल्याउने कार्य सम्पन्न हुने प्राविधिक शिक्षा तथा व्यवसायीक तालीम परिषदका अनुसन्धान निर्देशक मनोज शर्मा न्यौपानेले जानकारी दिए ।

‘हाल ७ वटा मध्ये ३ वटा प्रदेशहरुमा कार्यलय सञ्चालमा आइसकेको छ, बाँकी ४ ठाउँमा कार्यलय बन्ने क्रममा रहेको छ,’ न्यौपानेले क्लिकमाण्डूसँग भने ।

हाल पूर्वाञ्चलको इटहरीमा, मध्य क्षेत्रको भरतपुरमा र पश्चिम क्षेत्रको कोहलपुरमा कार्यलय सञ्चालनमा रहेको न्यौपानेले बताए ।

शिक्षामन्त्री नियुक्तिमा ढिलाइ भएका कारण थप कार्यालय खोल्न केही ढिलो भएको शर्माको भनाइ छ ।

हाल परिषदले स्वास्थ्य, इन्जिनियरिङ, कृषि तथा वनविज्ञान, हस्पिटलालिटीसँग सम्बन्धीत कार्यक्रमहरु सञ्चालनमा ल्याइरहेको छ ।

परिषदले विभिन्न समयमा विशेष क्षात्रबृत्ति कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको छ । परिषदले नेपाल भर ९८ संस्थानहरुमा आफ्नो सेवा उपलब्ध गराइ रहेको छ ।

यस्तै सिटिभिटीले प्रमाणपत्र तह नर्सिङका लागि ४ लाख ७९ हजार २ सय ८० रुपैयाँभन्दा बढी शूल्क लिन नपाइने मापदण्ड पनि तोकेको छ ।

प्रमाणपत्र तह सामान्य चिकित्साका लागि ४ लाख ११ हजार ८ सय ६५ रुपैयाँभन्दा बढी शूल्क लिन नपाइने नियम यही आर्थिक वर्षबाट लागू गरिएको पनि न्यौपानेले जानकारी दिए ।

डिप्लोमा इन फार्मेसिका लागि सिटिभिटसाग सहकार्य गरी पढाइ रहेका शिक्षण संस्थाले ३ लाख ४७ हजार ३ सय ७९ रुपैयाँ भन्दा बढी रकम लिन नपाउने नियम बनेको छ ।

शिक्षण संस्थाहरुले तोकिएको अधिकतम शूल्कभित्र रही खण्डीकरण गरी प्रथम वर्षमा ४० प्रतिशत, दोस्रो वर्ष ३० प्रतिशत र तेस्रो वर्षमा ३० प्रतिशत रकम लिन पाउने नीति बनाइएको न्यौपानेले जानकारी दिए ।

सो अनुसार तोकिएको शूल्क लिइसकेपछि छात्राबास बाहेक अन्य कुनै पनि नाममा अन्य शूल्क लिन नपाइने सिटिभिटीले जानकारी दिएको छ ।

तोकिएको भन्दा बढी शूल्क लिएको पाइएमा सो शैक्षिक संस्थानलाई कारवाही गरिने पनि न्यौपानेले बताए । यसअघि डडेलधुराको प्यारा मेडिकल इन्स्टिच्युटले बढी शूल्क लिएका कारण उक्त शैक्षिक संस्थान ३ वर्षका लागि बन्द गरिएको छ ।

यस्तै फूल्चोकीमा विद्यार्थीबाट बढी पैसा असुलेकै पाएर विद्यार्थीलाई पैसा फिर्ता गर्न समेत बाध्यकारी बनाई फिर्ता गरिएको पनि न्यौपानले बताए ।


क्लिकमान्डु