स्थानीय तहले लक्ष्य अनुसार विकास बजेट खर्च गर्न सकेनन्




उदयपुर । सरकारले स्थानीय तह सञ्चालनको लागि पठाएको विकास बजेटको आधा रकम पनि खर्च हुन सकेको छैन ।

स्थानीय कानून र कर्मचारीको अभावको कारण पुँजीगत खर्च कम भएको स्थानीय तहका प्रमुखहरु बताउँछन् । चालु आर्थिक बर्षको दोस्रो चौमासिक सकिन लाग्दा समेत विकास बजेट अपेक्षकृत खर्च हुन नसकेको कोष तथा लेखा नियन्त्रकको कार्यालय (कोलेनिका) उदयपुरले जनाएको छ ।

कोलेनिकाका अनुसार स्थानीय तहले ३५ प्रतिशत मात्र पुँजीगत बजेट खर्च गरेको छ ।

बेलका नगरपालिकाले ३३ प्रतिशत खर्च गरेको जनाएको छ । नगरपालिकाको दोस्रो अद्र्धवार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रममा नगर प्रमुख दुर्गा थापाले सरकारी लक्ष्य अनुसार विकास बजेट खर्च गर्न नसकेको बताए ।

‘विकास बजेट खर्च गर्न कर्मचारीकै समस्या छ, उपभोक्ता समिति बनायो, काम सुरु ग¥यो, कर्मचारी हुँदैन’, उनी भन्छन् ।

कमै मात्रामा खर्च भएको भन्दै थापाले भुक्तानी दिने बेलामा भनेअनुसार दिन नपाइएको, दिए पनि तत्काल बैंक अभावले समस्या हुने गरेको बताए । यसरी गुनासो गर्ने पहाडी क्षेत्रका रौतामाई, उदयपुरगढी, सुनकोसी र ताप्ली गाउँपालिकाको पीडा अझ धेरै छ ।

‘हामी झण्डै ४५ प्रतिशतसम्म पुग्न लागेका छौं, अहिले बिल बनाउने र अनुगमन गर्ने काम भइरहेको छ, हामीले अहिलेसम्म खर्च गरेको भनेको २० प्रतिशत मात्रै हो,’ रौतामाई गाउँ पालिका अध्यक्ष गजेन्द्र खड्काले भने ।

कटारी नगरपालिकाले ३३ प्रतिशत खर्च गरिसकेको बताएको छ भने चौदण्डी नगरपालिकाले हालसम्म ३५ प्रतिशत रकम मात्रै खर्च गरेको नगर प्रमुख खगेन्द्र राईले बताए । सदरमुकाम रहेको त्रियुगा नगरपालिकाले ३३ प्रतिशतसम्म मात्र खर्च गरेको नगरपालिकाका सूचना अधिकारी विश्वजीत राईले जानकारी दिए ।

गाउँ पालिकातर्फ हालसम्म ३० देखि ३६ प्रतिशतको बीचमा मात्रै खर्च भएको पालिका प्रमुखहरूको भनाइ छ । उदयपुरका स्थानीय तहमा तीन अर्ब १० करोड ५० लाख ३८ हजार रुपैयाँभन्दा माथिको बजेट छ । जिल्लाकोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख हिरा सापकोटा सबै स्थानीयतहलाई दुई किस्तामा ५० प्रतिशत बजेट निकासा दिई सकेको बताउछन् ।

‘विकास बजेट पूँजीगत बजेटभन्दा धेरै कार्यालय संचालनतर्फको चालू पूँजीखर्च भएको छ, स्थानीयतहले मागेको बजेट हामीले हाम्रो निमावली अनुसार पठाउने हौं,’ उनी भन्छन् ।

जिल्लामा कटारी नगरपालिकाले ५३ करोड २६ लाख ९१ हजार, चौदण्डी नगरपालिकाको ४२ करोड २४ लाख ९२ हजार, त्रियुगा नगरपालिकाको ६८ करोड नौ लाख १५ हजार, बेलका नगरपालिकाको ४० करोड ६० लाख ८७ हजार बजेट नगरसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याएका छन् ।

त्यस्तै उदयपुरगढी गाउँपालिकामा ३४ करोड १६ लाख २२ हजार, ताप्ली गाउँपालिकामा २५ करोड ३६ लाख ४७ हजार, रौतामाई गाउँपालिकाको २९ करोड ११ लाख १२ हजार, सुनकोसी गाउँपालिकामा १८ करोड २३ लाख ७२ हजार रुपैयाँ बजेट रहेको छ ।

स्थानीय तहले केन्द्रबाट प्राप्त हुने शसर्त अनुदानमा केही अन्य आन्तरिक स्रोतसमेत जोडेर बजेट प्रस्तुत गरेका थिए ।


क्लिकमान्डु