१२० प्रतिशत बोनस सेयर घोषणा गर्दा पनि राष्ट्रिय बीमा कम्पनीको सेयर मुल्य घट्यो



काठमाडौं । १२० प्रतिशत बोनस सेयर घोषणा गरेको राष्ट्रिय बीमा कम्पनीको सेयर मुल्य घटेको छ ।

राष्ट्रिय बीमा कम्पनीको १२० प्रतिशत बोनस सेयर दिने घोषणा आइतबार सेयर बजार खुल्नुभन्दा अगाडि नै सार्वजनिक भएको थियो ।

सेयर बजारमा सूचिकृत कम्पनीमा दोस्रो सबैभन्दा बढी सेयर मुल्य भएको कम्पनी राष्ट्रिय बीमा कम्पनी लिमिटेड हो ।

बोनस सेयर घोषणा अगाडि यसको सेयर मुल्य प्रतिकित्ता १३ हजार ४२१ रुपैयाँ थियो । बोनस सेयर घोषणा भएको कारोबारमा यसको सेयर मुल्य प्रतिकित्ता २१ रुपैयाँले घटेर १३ हजार ४ सय रुपैयाँमा झरेको छ ।

कम्पनीले अर्थिक वर्ष २०६७/६८ र २०६८/६९ को नाफाबाट १२० प्रतिशत बोनस सेयर त्यसमा लाग्ने ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो ।

अहिले २६ करोड ६६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको बोनस सेयर घोषणा भएपछि चुक्ता पुँजी ५८ करोड ६५ लाख रुपैयाँ पुग्छ ।

निर्जीवन बीमा कम्पनीले १ अर्ब चुक्ता पुँजी पुर्याउनुपर्ने रहेकोमा यो ४८ करोड कमी हो ।

सेयर बजारमा सबैभन्दा बढी कारोबार हुने कम्पनीमा राष्ट्रिय बीमा कम्पनी नै परेको छ । यसको संस्थापक ५ करोड ४७ लाख रुपैयाँ र साधारण सेयरको ३ करोड ४३ लाख रुपैयाँको कारोबार भएको छ ।

आइतबार नेप्से परिसूचक १२.२५ अंकले घटेको छ । नेप्सेमा ३१ करोड रुपैयाँको कारोबार भएको छ ।


क्लिकमान्डु