विदेशी मुद्रामा निक्षेपमा कमी आउँदा बैंकको निक्षेप घट्यो



काठमाडौं । विदेशी मुद्रामा वाणिज्य बैंकहरुमा हुने निक्षेप घट्दा निक्षेप ओरालो लागेको छ ।

संचालनमा रहेका २८ वाणिज्य बैंकसँग गत माघको ७ सम्ममा २२ खर्ब ९ अर्ब रुपैयाँ निक्षेप थियो ।

फागुन ३ मा आइपुग्दा निक्षेप घटेर २२ खर्ब ७ अर्बमा आएको छ ।
पछिल्लो एक महिनामा विदेशी मुद्रामा भएको वाणिज्य बैंकको निक्षेप ठूलो रकमले घटेको देखिन्छ । एक महिना अगाडि ९४ अर्ब रुपैयाँ विदेशी मुद्रामा निक्षेप थियो । अहिले त्यो घटेर ७७ अर्ब रुपैयाँमा छ ।

विदेशी मुद्रामा वाणिज्य बैंकको निक्षेप घटेपनि स्वदेशी मुद्रामा भने निक्षेप बढेको छ । एक महिना अगाडि २१ खर्ब १५ अर्ब रुपैयाँ स्वदेशी मुद्रामा निक्षेप थियो । अहिले २१ खर्ब ३० अर्ब रुपैयाँ निक्षेप रहेको छ । एक महिनाको अवधीमा १५ अर्ब रुपैयाँ स्वदेशी मुद्रामा निक्षेप बढेको छ ।

एक महिनाको अवधीमा कुल निक्षेप घटेपनि बैंकहरुको कर्जा विस्तार भने बढेको देखिन्छ । एक महिनामा बैंकहरुले २७ अर्ब रुपैयाँ कर्जा बढाएका छन् ।

एक महिना अगाडि १९ खर्ब २५ अर्ब रुपैयाँ रहेको कुल कर्जा अहिले बढेर १९ खर्ब ५२ अर्ब रुपैयाँमा पुगेको छ ।

विदेशी मुद्रामा भने जाने कर्जा २ अर्ब रुपैयाँले घटेको छ । अघिल्लो महिना ३८ अर्ब रुपैयाँ रहेको यस्तो कर्जा अहिले ३६ अर्ब रुपैयाँमा घटेको छ ।

स्वदेशी मुद्रामा बैंकहरुले १९ खर्ब १६ अर्ब रुपैयाँ कर्जा दिएका छन् । एक महिना अगाडि यस्तो कर्जा १८ खर्ब ८७ अर्ब रुपैयाँ थियो ।


क्लिकमान्डु