किन ऋण दिन धितोमा घर-जग्गानै खोज्छन् बैंकहरु ?



काठमाडौं । चालु आर्थिक बर्षको ६ महिनामा बैंक तथा वित्तीय संस्थाहरूले ६१.३ प्रतिशत कर्जा घर-जग्गा धितो लिएर मात्र प्रबाह गरेका छन् । साथै १४.५ प्रतिशत कर्जा चालू सम्पत्तिको धितोमा प्रवाह भएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।

गत आबको ६ महिनामा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६०.६ प्रतिशत र १४.३ प्रतिशत रहेको थियो ।

यसले बित्तीय क्षेत्र अझै घर तथा जमिन धितो बिना कर्जा प्रबाह गर्दैनन् भन्ने कुरालाई थप बल पुगेको छ ।

पछिल्लो समयमा सरकार र सरकार संचालकहरुले प्रोजेक्ट वा शैक्षिक प्रमाण पत्र धितो राखेर ऋया लिने भन्ने कुरालाई कतै सम्बोधन गर्दैन ।

बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा अघिल्लो बर्षको तुलनामा घटेको छ । अघिल्लो वर्ष १२.९ प्रतिशतले वृद्धि भएको निजी क्षेत्रमा कर्जा प्रबाह चालु आबमा ११.९ प्रतिशतले मात्र वृद्धि भएको छ ।

निजी क्षेत्रमा सबैभन्दा बढी प्रतिशत कर्जा विकास बैंकहरुले गरेका छन् । यस अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह ११.५ प्रतिशत, विकास बैंकहरुको १६.६ प्रतिशत र वित्त कम्पनीहरुको ४.२ प्रतिशतले बढाएका छन् ।

पछिल्ला दिनमा रियल स्टेट, ओभरड्राफ्ट र हायर पर्चेज कर्जामा वृद्धि भएको छ ।  यो ६ महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित हायर पर्चेज कर्जा ७.० प्रतिशतले तथा ओभरड्राफ्ट कर्जा ९.६ प्रतिशतले बढेको छ भने, रियल स्टेट कर्जा ९.५ प्रतिशतले बढेको छ ।


क्लिकमान्डु